गठबन्धन टुटाउने षड्यन्त्र सफल नभएको प्रचण्डको दाबी

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु सम्मिलित गठबन्धन टुटाउने षड्यन्त्र भएपनि त्यो सफल नभएको दाबी गरेका छन् । उनले अहिलेको सत्ता गठबन्धन संसद्को पूर्ण कार्यकालसम्म जाने दाबी गरे ।

चितवनको भरतपुरमा आयोजित कार्यक्रममा सम्बोधनको क्रममा उनले यस्तो दाबी गरे ।

उनले भने,‘मैले प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सुरु गर्दै गर्दा सुशासन र सामाजिक न्यायको पक्षमा, आर्थिक समृद्धिको पक्षमा यो सरकारको कमिटमेन्ट रहने भनेको थिएँ ।अहिले धेरै सुधार भएको छ । तराई/मधेशमा मिटरब्याजको समस्या समाधानको लागि लिएको पहल सार्थक भएको छ ।’

उनले सरकारले गरेको कामले गर्दा एकथरी मान्छेहरुलाई तनाव भएको आरोप लगाए । उनले भने,‘मैले खाली देशभित्र र देशबाहिर रहेका नेपालीहरुको हितमा काम गरेको छैन, यो सरकारले विदेशमा रहेका नेपालीहरुको नागरिकताको समस्या र मतदान गर्ने अधिकार सुनिश्चितता गरेको छ। देशभित्र पनि नागरिकताको समस्या समाधान गर्न वर्तमान सरकारले क्रान्तिकारी कदम चालेकै हो । मेरो भारत, इटाली, अमेरिका र चीन भ्रमणमा जे/जस्ता सहमति र समझदारी भएका छन् । त्यसले नेपालको राष्ट्रिय प्रतिष्ठालाई नयाँ उचाईमा उठाएको छ ।’

अहिलेको गठबन्धनलाई कमजोर पार्नको लागि एकथरी मान्छेहरु छट्पटिएका उनको आरोप छ । उनले भने,‘एकथरी मान्छेहरु छट्पटिएका छन् । उनीहरुलाई के गरी यो गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने भन्ने छ, यो गठबन्धन यसरी नै सुशासन, सामाजिक न्याय, समृद्धिको पक्षमा, भारत र अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुद बनाउने भनेको नेपाललाई राजनीतिक स्थायित्व र विकासलाई नयाँ गति दिने प्रक्रिया हो भनेर कहिल्यै अब सत्तामा फर्किन पाईँदैन कि भनेर निकै विक्षिप्त भएको पनि सायद तपाईहरुले महशुस गर्नुभएको होला ।’

उनले कोशी प्रदेशमा विकसित राजनीतिक परिदृश्य पनि सत्ता गठबन्धन भत्काउने षड्यन्त्रको नै एक अंश रहेको सुनाए । उनले भने,‘अहिले भर्खरै कोशी प्रदशेमा जे राजनीतिक परिदृश्य तपाईँहरुले देख्नुभयो होला, यही गठबन्धनले राम्रो गरेको देख्न नसकेर एकथरी मान्छे यहाँभित्र खेल्न सकिन्छ कि, यहाँभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भन्ने योजनाअन्तर्गत ती कामहरु थिए । तर, हिजो तपाईँहरुले योपनि थाहा पाईसक्नुभयो । देउवा, म र शेखर कोइरालाबीच सहमति गरेपछि त्यो षड्यन्त्रलाई निस्तेज पारिएको छ । यो गठबन्धनले पूण कार्यकाल काम गर्छ ।’

  • २८ आश्विन २०८०, आईतवार १४:५८ प्रकाशित