१० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउँदा लाग्ने खर्च इजरायल सरकारले बेहोर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव इजरायल सरकारले नै पठाउने भएको छ । शव नेपाल पठाउन लाग्ने सम्पूर्ण खर्च इजरायल सरकारले नै बेहोर्ने भएको हो । शव कहिले पठाउने भन्ने विषयमा भने यकिन हुन सकेको छैन् ।

‘१० जनाको शव नेपाल ल्याउन लाग्ने सबै खर्च इजरायल सरकारले नै बेहोर्नेछ । सबै प्रकृया पुरा गरेर नेपाल पठाउने भन्ने कुरा छ । कति समयमा नेपाल पठाउँछन् भन्ने यकिन भएको छैन् । तर, इजरायल सरकारले नै पठाउनेछ’ परराष्ट्र मन्त्रालय स्रोतले भनेको छ ।

शव नेपाल सरकारले नै ल्याउने कि के गर्ने भन्ने थियो । तर, इजरायल सरकारले आफ्नै खर्चमा शव पठाउने भएको हो । गत शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । मृत्यु भएका उनीहरुको शव नेपाल ल्याउन ढिलाइ भइरहेको छ । इजरायलमा धेरैको मृत्यु भएकाले उनीहरुको पहिचानमा समस्या भएको भन्दै इजरायल सरकारले त्यो प्रकृया पुरा गरेपछि शव नेपाल पठाउने भएको हो ।

यसअघि शुक्रबार राति २५४ जना नेपाली विद्यार्थीको उद्धार गरिएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री एनपी साउद आफै इजरायल पुगेका थिए । त्यहाँ रहँदा विमानस्थलमा इजरायल विदेश मन्त्रालयका उच्च अधिकारी र सुरक्षा निकायका अधिकारीहरुसँग भेट गरेका थिए ।

उक्त भेटको क्रममा युद्धको अवस्थाका विषयमा जानकारी लिएका थिए । त्यस्तै नेपालीहरुको शव नेपाल पठाउने विषयमा समेत कुरा गरेका थिए । त्यही क्रममा इजरायली अधिकारीहरुले इजरायली सुरक्षाकर्मी, सर्वसाधारण, विभिन्न देशका नागरिक मात्र नभई आतंकवादीको समेत मृत्यु भएकाले शव पहिचानमा समस्या भएको जानकारी दिएका थिए ।

त्यसैले शव हस्तान्तरणमा ढिलाई भएको र जति सक्दो चाँडो नेपाल पठाउने व्यवस्था मिलाइने विदेश मन्त्रालयका अधिकारीहरुले बताएका थिए ।

  • २८ आश्विन २०८०, आईतवार १०:२७ प्रकाशित