दशैं भित्रदा सकियो महानगरका धार्मिक स्थलहरुमा सरसफाई

मठमन्दिरहरू, मस्जिद, गुम्बा लगायत सडक, खोलानाला, सार्वजनिक चोक चौतारा र खुला स्थानहरूमा सरसफाइ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाको व्यवस्थापनमा महानगरभित्रका धार्मिक स्थलहरुको सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी रुपमा आयोजना गरिएको सफाइ अभियान शनिवार सकिएको छ । महानगरका ३३ वटै वडाका धार्मिक स्थलमा सरसफाइका कार्यक्रम गरिएको महानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ ।

अघिल्लो शनिवार पोखरा १९ लामाचौर स्थित प्रसिद्ध शक्तिपिठ अकलादेवी मन्दिर परिसरबाट सुरु गरिएको पहिलो चरणको सफाइ अभियान पोखरा–१३ मियाँपाटन स्थित जामे मस्जिदे अक्सा परिसर सरसफाइसँगै टुङ्गिएको हो । यद्यपि, महानगरपालिकाको नियमित सफाइको कार्य भने जारी नै रहने जनाइएको छ ।

नजिकिँदै गरेको चाडपर्वको पूर्वसन्ध्यामा धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरू मठमन्दिरहरू, मस्जिद, गुम्बा लगायत सडक, खोलानाला, सार्वजनिक चोक चौतारा र खुला स्थानहरूमा सरसफाइ गर्ने प्रचलनलाई निरन्तरता दिँदै सफाइ अभियान सञ्चालन गरिएको हो । यस अभियानले पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पर्यावरणीय स्वच्छता प्रदान गर्नुका साथै नगरवासीहरूमा सफाइ प्रति सचेतना अभिवृद्धि गर्ने विश्वास लिइएको सरसफाइ शाखा प्रमुख कल्पना बरालले बताइन् ।

पछिल्लो समय नगर क्षेत्रमा डेङ्गी लगायत मौसमी सङ्क्रमणहरूको जोखिम बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लागि फोहरको उचित व्यवस्थापन प्रति जागरण ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाई छ । यो अभियानमा सयौँ टन फोहोर सङ्कलन गरिएको उनले जानकारी दिइन् । अभियानमा टोल विकास संस्था, आमा समूह, महिला सञ्जाल, युवा क्लब, नागरिक समाज, सुरक्षा निकाय, महानगर प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका लगायत हजारौँ अभियान्ताहरुले सहभागिता जनाएका छन् । सरसफाइ प्रतिको नागरिक जागरणमा यसले महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ ।

वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक राम बहादुर पौडेलले सरसफाइ नागरिक चेतनाको विषयसँग जोडिएको बताए । ‘वातावरणलाई सफा राख्न स्वच्छता प्रवद्र्धनका यस खाले अभियनाहरु निकै महत्वपूर्ण मानिन्छन् यसले मानिसहरूलाई जागरणको स्थितिमा ल्याइपुर्याउदछ, उनले भने, स्थानीय सरकार, जनप्रतिनिधि र सरोकारवालाहरू जिम्मेवारीको हिस्सेदार बन्नुपर्दछ ।’ उनका अनुसार पोखरामा वातावरण संरक्षण प्रति नागरिकहरू सचेत बन्दै गएका छन् ।

  • २७ आश्विन २०८०, शनिबार २१:११ प्रकाशित