दौँतरी शृंखलामा दीपक समीप र जीवनसागर भण्डारी

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली लेखक संघ, गण्डकी प्रदेशको आयोजनामा दौँतरी कार्यक्रमको दोस्रो शृंखला सम्पन्न भएको छ । संस्थाको इतिहास, दौँतरी कार्यक्रमको विशेषता र दौँतरी शृंखलामा उभिँदै गरेका स्रष्टाहरू दीपक समीप र जीवनसागर भण्डारीको छोटो परिचयसँगै कार्यक्रमको थालनी गरे संस्थाका महासचिव सञ्जीव पौडेलले । त्यसलगत्तै उनले शृङ्खलाका दौँतरी सर्जक दीपक समीप र जीवनसागर भण्डारीलाई मञ्चमा बोलाए । उनीहरूलाई मञ्चमा खादा लगाएर स्वागत गरे साहित्यकार सरूभक्त र तीर्थ श्रेष्ठले । कार्यक्रम सञ्चालक पौडेलले सहजकर्ताका रूपमा डा. ईश्वरमणि अधिकारीलाई मञ्चको जिम्मा लगाएसँगै अधिकारीले दौँतरी कार्यक्रमको मेलो अघि बढाए ।

अधिकारीले दीपक समीप र जीवनसागर भण्डारीका एक एक थान मुक्तक वाचन गरेर कार्यक्रम सुरु गरे । चालीसको दशकको अन्तिमतिरबाट छापा माध्यममा मुक्तकलेखनबाट उदाएका साहित्यकार दीपक समीप र पचासको दशकसँगै साहित्य लेखनमा लागेका जीवनसागर भण्डारीका सिर्जना लेखन र मित्रताका आयामलाई अधिकारीले एकपछि अर्को गर्दै कोट्याउँदै गए । मुक्तक र गफगाफ सँगसँगै अगाडि बढाइएको कार्यक्रममा स्रष्टाद्वय समीप र भण्डारीले तीन तीन मुक्तक वाचन गर्दै बिचबिचमा विविध सन्दर्भ प्रस्तुत गरेका थिए । रोचक सन्दर्भ र प्रभावशाली मुक्तकको समन्वयले कार्यक्रमलाई निकै स्वादिलो तुल्याएको थियो ।

लमजुङमा जन्मेर पोखरामा आएका समीप र कास्की जिल्लामै जन्मेर साहित्य साधनामा लागिरहेका भण्डारी पोखराका साहित्यिक गतिविधिमा निरन्तर सक्रिय र स्थापित सर्जक हुन् । साथमा मित्रताभित्रका विविध सन्दर्भ ठट्यौली पाराले राख्दै कार्यक्रमको माहौललाई रमाइलो तुल्याएका थिए । बिचबिचमा अन्तर्सम्बन्धका केही गुह्य पक्षलाई कोट्याउने काम डा. अधिकारीले गरिरहेकै थिए । हलमा उपस्थित दर्शकहरू निकै चाख मानी मानी यी सबै कुरा सुनिरहेको देखिन्थ्यो । गफगाफले रमाइलो बनाएको माहौललाई मुक्तक वाचन गर्दा निकै गम्भीर पनि तुल्याउँथे समीप र भण्डारी । उनीहरूले देशभक्ति, राजनीति, सामाजिक विकृति, भ्रष्टाचार, माया प्रेम, समसामयिक सन्दर्भ एवम् शृङ्गारिक विषयका पन्ध्र पन्ध्रओटा मुक्तक वाचन गरेका थिए ।

पूरै एक घण्टासम्म दुई जना मित्रका सिर्जना र अनुभव सुनेपछि फेरि मञ्चमा देखा परे कार्यक्रमका सञ्चालक पौडेल । उनले सल्लाहकार विश्व सिग्देल र नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठमार्फत दौँतरी सर्जक एवम् कार्यक्रमका सहयोगीहरूलाई मायाको चिनो प्रदान गरे ।
संस्थाले गत चैत्रमा आयोजना गरेको दौँतरी कार्यक्रमको शुभारम्भ शृङ्खलामा साहित्यकार सरूभक्त र तीर्थ श्रेष्ठलाई मञ्चमा उभ्याएर उनीहरूका सिर्जना तथा जीवनका अनुभव श्रवण गराएको थियो ।

दोस्रो शृङ्खलामा दोस्रो पुस्ताका सर्जकहरू दीपक समीप र जीवनसागर भण्डारीलाई उभ्याएको संस्थाले आगामी शृङ्खलामा त्यसभन्दा पछिल्लो पुस्तामा क्रियाशील कविद्वय अल्पज्ञानी र सञ्जीव पौडेललाई उभ्याउने घोषणा संस्थाले गरेको छ । आजको कार्यक्रमका स्रष्टा दीपक समीपले सञ्जीव पौडेललाई र जीवनसागर भण्डारीले अल्पज्ञानीलाई खादा लगाएर शृङ्खला हस्तान्तरण गरे । यस सँगसँगै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै संस्थाका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले कार्यक्रमको समापन गरे ।

  • २७ आश्विन २०८०, शनिबार १८:१३ प्रकाशित