‘भ्रष्टाचार रोक्न नागरिक समाज दलको दायरा भन्दा माथि उठ्नुपर्छ’

केन्द्रभाग मिडिया

 

पोखरा ।
भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि नागरिक समाज दायरा भन्दा माथि उठ्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले दलका नेताहरु नै भ्रष्ट हुँदा त्यसको समग्र क्षेत्रमा परेको भन्दै त्यसलाई रोक्न दलहरुको दायराबाट नागरिक समाज माथि उठ्नुपर्ने औल्याएका हुन् । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था कास्कीले शनिबार विहान आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दल र नागरिक समाजको भूमिका विषयक गोष्ठीमा बोल्ने वक्ताहरुले यस्तो औंल्याएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति किसोरदत्त बरालले दलहरु सबैलाई आफ्नो सदस्य बनाउन चाहने उल्लेख गर्दै ‘के नागरिक समाज राजनीतिक दलभन्दा माथि उठ्न सकेको छ ?’ भन्ने प्रश्न गरे । उनले नागरिकलाई नागरिकको रुपमा नराख्ने हो भने दल र तिनका नेता सच्चिन बाध्य हुने औंल्याएका छन् । ‘के नागरिक समाजमा आवद्धहरु दलको दायराबाट बाहिर आउन सक्नुभएको छ ? हामी दलका नेता सबै नागरिकलाई दलको सदस्य बनाउन चाहन्छौं । त्यो स्वभाविक पनि हो ।’ उनले प्रश्न सोधे ‘्तर, नागरिक समाजका अगुवा हौं भन्नेहरुले आजैका मिति देखि दलसंगको आवद्धता त्याग्यौं भन्न सक्नुहुन्छ ?’

राजनीति देश र जनताका लागि नभई सत्ता, नेता र कार्यकर्ताका लागि भएकाले देशमा समस्या आएको उनको भनाई छ । त्यसलाई सच्याउन नागरिक समाज साच्चैको नागरिक समाज भएर उभिनुपर्ने उनले बताए ।

नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनाराण अधिकारीले दर तिनका नेता र नागरिक समाज सबै सच्चिनुपर्ने बताए । सबैतिर समस्या रहेको भन्दै सबैले एक अर्कालाई दोष देखाएर उम्किन नमिल्ने धारणा राखे ।

नेकपा माओवादी केन्द्रका कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारीले दलमा लागेका नेताहरुको हैसियत हिजो के थियो र आज के छ भनेर खोज्ने हो भने भ्रष्टाचार कसरी भइरहेको भन्ने सबै बाहिर आउने धारणा राखे । भ्रष्टाचार विरुद्ध स्वतन्त्र रुपमा हुने अनुसन्धानमा देशको प्रधानमन्त्री परेपनि छुट पाउन नहुने मान्यताका साथ आफ्नो पार्टी अगाडि बढेको उनले दाबी गरे ।

नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्गबहादुर हमालले भ्रष्टाचार बेलैमा नियन्त्रण गर्न नसक्ने हो भने मुलुक असफल राष्ट्र बन्न सक्ने तर्फ सबै सचेत हुनुपर्ने बताए । भ्रष्टाचार नियन्त्रणका लागि दलहरु प्रतिवद्ध हुनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा वरिष्ठ अधिवत्ता तीलक पराजुलीले हाम्रा राजनीतिक दल र भ्रष्टाचर विषयमा अवधारणा पत्र राखेका थिए । उनले आफ्नो अवधारणामा दलका नेताहरु नै भ्रष्टाचारमा डुबेको र पहुँचका आधारमा उनीहरुलाई उन्मुक्ति दिइएको औल्याइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका निमित्त प्रमुख सन्तोष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारले अपनाएका रणनीति, अवस्था र भ्रष्टाचार हुनुका कारण लगायतका विषयमा प्रस्तुति राखेका थिए ।

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था कास्कीका अध्यक्ष डोलराज पाण्डेले सुशासन र सदाचार बढे विदेशीने नागरिक स्वदेशमै रोकिने धारणा राखे । उनले सुशासन र सदाचार बढाउनका लागि भन्दै कार्यक्रम आयोजना गरिएको बताए ।

बालिका प्रिन्सी ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रध्यापक, अधिवक्रा गिरिधारी सुवेदीले कार्यक्रममा राखिएको अवधारणाको विषयमा टिप्पणी गरेका थिए । कार्यक्रममा कास्की स्थित विभिन्न सामाजिक संघसस्था, नागरिक समाज र दलका नेताहरुको समेत उपस्थिति थियो ।

  • २७ आश्विन २०८०, शनिबार १८:०२ प्रकाशित