कांग्रेसका केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेस सांसद कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसहरूले हस्ताक्षर गरेका थिए । हस्ताक्षर सनाखत भएपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

‍सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबोलाई कोशीको मुख्यमन्त्री बनाउने सहमति गरेको थियो । सोही अनुसार शुक्रबार आङ्बोले बहुमत सांसदहरूको हस्ताक्षरसहितको दाबी पेस गरेका थिए । दुबै पक्षले बहुमत सदस्यहरूको हस्ताक्षर पेश गरेपछि प्रदेश प्रमुख खापुङले शुक्रबार ढिला भएका कारण सनाखत गर्न आज बिहान ८ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरेका थिए ।

सो अनुसार केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरू ९ बजे प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए ।

हस्ताक्षर गरेअनुसारका सांसदहरू सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत गरेपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्री बनेका कार्कीले अबको १ महिनामा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

 

  • २७ आश्विन २०८०, शनिबार ११:१९ प्रकाशित