मणिपाल प्रकरण

कुटपिट र अस्पताल तोडफोडको अभियोगमा २ जना पुर्पक्षका लागि जेल चलान

केन्द्रभाग मिडिया

पोखरा ।
मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको तथा अस्पताल तोडफोड गरेको अभियोगमा जिल्ला अदालत कास्कीले दुईजनालाई कारागारको फैसला गरेको छ ।

यही ७ असोजमा उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएकी लमजुङ सुन्दरबजार ६ की ५७ की सुक माँया दुराको उपचारको क्रममा ८ आसोजमा ज्यान गुमेको थियो । ज्यान गुमाएकी दुराका आफन्तहरूले उपचारमा डाक्टरको लापरबाहीको कारण ज्यान गुमेको र त्यसको कारण खुलाउनु पर्ने माग राखी आन्दोलन गरेका थिए ।

उक्त आन्दोलनका क्रममा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको तथा अस्पताल तोडफोड गरेको अभियोगमा पोखरा १७ हनुमान टोलका छावा भनिने सुशिल कार्की र पोखरा ५ मालेपाटनका बिनय गुरुङलाई पुर्पक्षयका लागि थुनामा पठाउने फैसला गरेको हो । उनीहरुलाई जिल्ला कारागार कास्कीमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले चिकित्सकलाई कुटेको र अस्पतालमा तोडफोड गरेको आरोपमा ९ जनालाई पक्राउ गरी स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडी बढाएको थियो । सरकारी वकिल कार्यालय मार्फत अदालत पेश हुँदा कास्की जिल्ला अदालतबाट दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

उनीहरुलाई सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरिएकामा पोखरा ४ का संजय पीडित भनिने सुजित मुल्मी, पोखरा ५ का अभिनाश गुरुङ र अरुण गुरुङ, पोखरा ९ का नितेश गुरुङ र विवेक गुरुङ, पोखरा २० का मनिष थापा र पोखरा ११ का प्रदिप गुरुङ भने जनही १ लाख धरौटी राखी तारेखमा छुटेका कास्की प्रहरी प्रवक्ता विकले जानकारी दिए।

  • २६ आश्विन २०८०, शुक्रबार २०:०९ प्रकाशित