काठमाडौँ ।
प्रतिनिधिसभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य सुवेदीले चाडपर्वको समयमा अत्याधिक रुपमा खाद्यान्नको मूल्यवृद्धि भएको यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले प्रभावकारी बजार अनुगमन गर्न सरकारलाई आग्रह गरिन् । उनले हवाई यातायात र स्थल यातायातमा ठगी हुनसक्ने भन्दै यात्रुको सहज यात्राका लागि ध्यान दिन पनि सरकारसँग आग्रह गरिन् ।
प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्यले स्थानीय तहको कर्मचारी र शिक्षकहरुको समस्यामा सरकार बेखबर रहेको बताए । उनले वीर अस्पतालबाट चिकित्सकहरुलाई अन्यायपूर्ण ढंगले निकालिएको बताए । त्यस्तै कालोबजारी भइरहँदा पनि सरकार बेखबर बनेको उनको भनाई छ ।
प्रतिनिधि सभा सदस्य मनिष झाले भूकम्पग्रस्त क्षेत्र बझाङमा यातायातको सरल व्यवस्था गर्न सरकारसँग माग गरे । उनले चाडपर्वको बेलामा सो क्षेत्रमा सहज वातावरण बनाइदिएर राज्य र सरकार छ भन्ने अनुभूति दिलाउनुपर्ने बताए ।













