बन्धक रिहा नभएसम्म इजरायलले गाजामा बिजुली, पानी र इन्धनको सप्लाइ रोक्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

हमास लडाकु समूहले बन्धक बनाएका आफ्ना नागरिक रिहा नगरेसम्मका लागि इजरायलले गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको सप्लाइ बन्द गरिदिएको छ ।

हमास लडाकुले १५० बढी इजरायलीलाई बन्धक बनाएका छन् भने हमासको आक्रमणबाट १ हजार २०० इजरायलीको मृत्यु भएको छ ।

इजरायलका उर्जामन्त्री इजराइल काट्जले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबसम्म बन्धक बनाएका हाम्रा नागरिक रिहा हुँदैनन्, तबसम्म बिजुलीको स्वीच अन हुँदैन, पानीको पाइप खुल्दैन र इन्धन बोकेको ट्रक गाजामा जाँदैन ।’

गत शनिबार हमास लडाकुले हमला गरेकै दिन इजरायले बिजुलीको साथै, औषधि तथा पानीसहितका अत्यावश्यक सामग्रीको आपूर्ति बन्द गरिदिएको थियो ।जसका कारण गाजा क्षेत्रमा अहिले बिजुली छैन । अस्पतालमा जेनेरेटर चलाउनका लागि पनि सिमित इन्धन मात्र रहेको छ ।

सहायताकर्मीहरुले गाजामा खाना तथा पानीको अभाव भएको बताएका छन् । इजिप्टले गाजामा अत्यावश्यक सामग्रीको ढुवानीका लागि ६ घन्टा युद्ध विराम गर्न आग्रह गरेको छ ।

इजरायली सेनाले गाजामा आक्रमण पनि जारी राखेको छ । जसका कारण अहिलेसम्म १ हजार २०० प्यालेस्टायनीको मृत्यु भएको छ । ३ लाख ३८ हजार बढी प्यालेस्टायनी नागरिक विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

  • २५ आश्विन २०८०, बिहीबार १६:३४ प्रकाशित