वीरेन्द्रनगर ।
कर्णाली सरकारले इजरायलमा मृत्यु विद्यार्थीका परिवारलाई तीन लाख रुपैयाँ दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले बैठकले इजरायलमा रहेका नागरिकको छिटो भन्दा छिटो उद्धार गर्न पनि संघीय सरकारलाई आग्रह गरेको बताए ।
गत शनिबार बिहान इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्यु भएको छ । तेलअभिभस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् ।














