पोखरामा सञ्चालित सुपथ मूल्य पसलबाट निरास हुँदै फर्कन्छन उपभोक्ता

नून, तोरीको तेल र चामल मात्रै पाइन्छ, चिनी र अरु खाद्यान्न नै नपाइने नाममात्रको सुपथ मूल्य पसल

केन्द्रभाग मिडिया

पोखरा  ।

सरकारले आइतबार देखि सञ्चालन गरेको भनिएको सुपथ मूल्य पसलले पोखरामा सर्बसाधारणलाई निरास पारेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकीले आफ्नो गोदममै सञ्चालन गर्ने सुपथ मूल्य पसल र खाध्य संस्थानले पोखराको विरौटा र पृथ्वीचोकमा सञ्चालन गरेको यस्तो पसलमा चिनी लिन जाने गरेका सर्वसाधारण यसपालि पनि निरास हुँदै फर्किएका छन् ।

नून, चामल र तोरीको तेल मात्र पाइने भएपछि उपभोक्ता निरास हुँदै फर्केका साल्ट ट्रेडिङ कर्पोरेसन पोखराका प्रवक्ता सागर शेरचनले जानकारी दिए । चिनी मौजदात नहुँदा बेच्न नपाएको उनले बताए । ‘टाढा टाढाबाट उपभोक्ताहरु आउनुभएको छ,’ उनले भने, ‘चिनीको मौजदात छैन । खरिद प्रक्रिया बल्ल अगाडि बढेको छ । कहिले चिनी आउँछ भनेर भन्ने अवस्था छैन । हामीले चिनी खोज्ने ग्राहकलाई फर्काउनुको विकल्प छैन ।’

विक्रम सम्बत २०७१ सालको चाडपर्वमा मैदा, पिठो र सुजी सहित चिनी र नून सस्तो मुल्यमा पाइने गरेकोमा ०७२ मा भूकम्प र भारतीय नाकाबन्दीले पसल सञ्चालन भएन । त्यसपछि चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालन गरिएको भएपनि नून र चिनी मात्र बिक्री हुने गरेकामा २०७७ यहाँ नून मात्र दुई रुपैयाँ सस्तोमा विक्री हुनेगरेको छ । यसपाली नूनसहित तोरीको तेल र चामल पाइएको हो ।

कार्यालयका प्रवक्ता शेरचनका अनुसार नून एक जनालाई ६ किलो ग्रामसम्म दिइएको छ । नूनको मूल्य १८ रुपैयाँ प्रति किलोग्राम रहेको उनले जानकारी दिए । यसैगरी शान्ति तोरीको तेल प्रति लिटर ३७० रुपैयाँमा चाहेजति लैजान पाइने उनले बताए । उनका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले जिरा मसिनो एसटिसी चामल प्रतिबोरा (२५केजी) को २१६५ पर्छ । खाद्य संस्थानको विरौटा र पृथ्वीचोकको सुपथ पसलबाट स्टिम जिरा मसिना चामल मात्र विक्री भइरहेको छ ।

खाद्य व्यवस्था तथा गुण व्यापार कम्पनी लिमिटेड पोखरा कार्यालयका प्रवक्ता रञ्जना केसीले प्रति बोरा (२५ केजी) को १९७५ रुपैयाँमा उक्त चामल विक्री भएको जानकारी दिइन् । उनका अनुसार पोखरामा खाद्यले सञ्चालन गरेको सुपथ पसलमा चामल बाहेक उपभोक्ताले अरु खाद्यान्न तोकिएको सुपथ मूल्यमा किन्न पाउँदैनन् । सुपथ मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार, साल्ट ट्रेडिङलाई एक करोड छुट्याएको छ ।

हप्ता मै दुई सय बोरा सकिन्थ्यो चिनी

२०७७ मा पहिलो हप्तामै चिनी २ सय बोरा भन्दा धेरै बिक्री हुनेगरेको थियो । प्रति ब्यक्ति ६ केजी चिनी लिन लाइन थेगिनसक्नु हुन्थ्यो । कर्मचारीलाई ब्यवस्थापन गर्न नै हम्मे-हम्मे हुनेगरेको साल्ट ट्रेडिङ कर्पोरेसन पोखराका कर्मचारी स्मरण गर्छन् ।

एक कर्मचारीले सर्वसाधारणको चाप ब्यवस्थापन गर्न दिउसो २/३ बजे नै गेट बन्द गर्ने अवस्था आउने गरेको सम्झे । यसपाली चिनी नहुँदा नून समेत विकेको छैन ।

 

  • २४ आश्विन २०८०, बुधबार १३:४२ प्रकाशित