कोशीमा नयाँ सरकार बनाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र राप्रपा अध्यक्ष लिङ्देन बीच कुराकानी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । कोशी प्रदेशमा नयाँ सरकार बनाउने विषयमा मंगलबार सिंहदरबारमा प्रधानमन्त्री र राप्रपा अध्यक्ष लिङ्देन बीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, विकास निर्माण र कोशी सरकारबारे उनीहरूले कुराकानी गरेका जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष लिङ्देनलाई कोशी सरकार गठनमा सहयोग गर्न आग्रह गरेका छन्। तर अध्यक्ष लिङ्देनले यसबारे पार्टीले निर्णय लिन बाँकी नै रहेको जवाफ दिएका छन् ।

‘अध्यक्षज्यू विकास, निर्माणलगायत विभिन्न कुराबारे छलफल गर्न प्रधानमन्त्रीकहाँ जानुभएको हो,’ राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, ‘कुराकानीका क्रममा कोशी सरकारको विषय पनि आएछ, उहाँले कुनै ठोस निर्णय दिइसक्नुभएको छैन।’

श्रेष्ठका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले कोशी सरकारबारे आवश्यक निर्णय लिन अध्यक्ष लिङ्देनलाई अधिकार दिने निर्णय गरेको छ। पार्टीका नेताहरूसँगको सुझावका आधारमा कोशी सरकार गठनमा सामेल हुने कि नहुने भन्ने निर्णय लिइने उनले बताए।

‘राप्रपाले कोशी सरकारबारे के गर्ने भन्ने निर्णय सम्भवतस् शुक्रबार नै गर्छ,’ श्रेष्ठले भने। अध्यक्ष लिङ्देनले यसअघि संविधानको धारा १६८ को उपधारा ५ प्रयोगमा आएपछि पार्टीले ठोस निर्णय लिने बताउँदै आएका थिए।

  • २३ आश्विन २०८०, मंगलवार १६:१६ प्रकाशित