इजरायल–हमास लडाइँमा अहिलेसम्म ४५० जनाले ज्यान गुमाए, सैयौं घाइते

केन्द्रभाग मिडिया

तस्बिर:एएफपी

एजेन्सी
इजरायल–गाजा युद्धमा ४५० भन्दा बढी मानिसहरूको ज्यान गुमेको विवरण छ। द न्युयोर्क टाइम्सका अनुसार आइतबार (आज) बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको ज्यान गुमेको पुष्टि भएको हो ।

इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको ज्यान गुमेको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन् । इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

इजरायलका विभिन्न शहरहरूमा हमास र इजरायली सैनिकहरूबीच युद्ध भइरहेको बताइएको छ। विभिन्न शहरहरूबाट हमासले त्यहाँका नागरिकहरूलाई बन्दी बनाएर लैजाँदै गरेको भिडिओहरू सार्वजनिक भएका छन् ।

इजरायली अधिकारीहरूले ज्येष्ठ नागरिक र सैनिक अधिकारीहरूलाई हमासले अपहरण गरी गाजा पुर्‍याएको बताएका छन् ।

हमासको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले युद्ध सुरू भएको घोषणा गरेका छन् । उनले अझै केही दिन युद्ध चल्ने र केही गाह्रो परिस्थितिको सामना गर्नुपर्ने बताएका छन् । ‘हामी युद्धमा छौं र यो युद्ध हामी जित्नेछौं,’ उनले भनेका छन्।

शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले इजरायलका विभिन्न शहरमा आक्रमण गरेका थिए। इजरायलका २२ सहर र सेनाको आधार शिविरमा हमासले गाजाबाट हजारौं रकेट प्रहार गरेको थियो ।

यसलाई इजरायलमाथि ५० वर्षयताकै ठूलो आक्रमण रहेको बताइएको छ । तर यसलाई निस्तेज पारेरै छाड्ने प्रधानमन्त्री नेतन्याहुले बताएका छन् ।

‘हाम्रा दुश्मनले कल्पना नै नगरेको मूल्य चुकाउनु पर्ने छ,’ नेतन्याहुले भनेका छन्, ‘हामी युद्धमा छौं र हामीले यो युद्ध जित्नेछौं ।’ उनले हमासको आक्रमणको प्रतिकार गर्न मिलिटरी रिजर्भिस्टसलाई पनि बोलाएका छन् ।

हमासका सैन्य कमाण्डर मोहम्मद डैफले हमास मिडियामा सम्बोधन गर्दै इजरायलमाथिको आक्रमण सुरू भएको बताएका थिए । उनले जुनसुकै ठाउँमा रहेका प्यालेस्टाइनीहरूलाई लडाइँमा भाग लिन आह्वान गरेका थिए।‘यो संसारमा भएको अन्तिम अतिक्रमणलाई समाप्त गर्ने विशाल लडाइँको दिन हो,’ उनले भनेका छन् । हमास र इजरायलबीच सन् २०२१ मा पछिल्लो लडाइँ भएको थियो । उक्त लडाइँ १० दिनसम्म चलेको थियो ।

  • २१ आश्विन २०८०, आईतवार १०:४७ प्रकाशित