कास्की प्रहरीको चाडपर्व विशेष सूचना

घर वा कोठा छाडेर जाँदा झ्याल, ढोका राम्रोसँग बन्द गर्न, यात्रा गर्दा अपरिचित व्यक्तिले दिएको नखान आग्रह

केन्द्रभाग मिडिया

 पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्व नजिकिएसँगै सर्वसाधरणलाई सजक, सर्तक र सचेत रहन आग्रह गर्दै सूचना जारी गरेको छ ।
चाडपर्वका बेला चोरी, डकैती जस्ता अप्रिय घटनाहरु हुने भएकाले सचेत रहन प्रहरी कार्यालय कास्कीले सुचना जारी गरेको हो ।

प्रहरीले सूचना जारी गर्दै घर वा कोठा छाडेर जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसँग बन्द गरि नजिकको विश्वासिलो छिमेकीलाई खबर गर्न, आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसको स्पष्ट नाम, थर, वतन, परिचय खुल्ने कागजात, फोटोसहितको अभिलेख राख्न आग्रह गरेको छ ।

बहुमूल्य गरगहना लगाएर मेला, पर्व तथा भिडभाडमा नजान र जानै परे चनाखो रहन, यात्राको क्रममा अपरिचित मानिसहरुसँग धेरै घुलमिल नहुन, नचिनेका व्यक्तिले दिएको कुनै किसिमको खानेकुरा नखान, लोभ लालचमा नपर्न, कानुनद्धारा प्रतिवन्धित जुवा, तास नखेल्न नखेलाउन, विष्फोटक पदार्थ जस्तै पटाका, भुई चम्पा, आतिसबाजीको प्रयोग नगर्न अनुरोध गरेको छ ।

नशालु वा मादक पदार्थ सेवन गरी सवारी नचलाउन,विभिन्न चिठ्ठाहरुको नाममा ठगी हुने भएकाले त्यस्ता व्यक्ति तथा संस्थाहरुबाट सजक रहन पनि सुचनामार्फत आग्रह गरिएको छ।

कुनै पनि सुरक्षात्मक समस्या परेमा नजिकको प्रहरी कार्यालयमा सुचना दिन वा १०० मा कल गरि खबर गर्न प्रहरीले अपिल गरेको छ ।

  • १९ आश्विन २०८०, शुक्रबार १७:०१ प्रकाशित