समाजावादी मोर्चा एमाले विरुद्धको मोर्चा : उपमहासचिव गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बामपन्थीका नाममा खोलिएको समाजवादी मोर्चा एमालेका विरुद्ध खोलिएको मोर्चा रहेको बताएका छन् । नेकपा एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशनको समापन समारोहलाई शुक्रबार विहान सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यो मोर्चालाई पराजित गरेर एमाले नै बामपन्थी र कम्युनिष्ट शक्ति हो भन्ने प्रमाणित गर्नुपर्ने उनले धारणा राखे ।

एमाले उपमहासचिव गुरुङले एमाले भन्दा अर्को लोकतान्त्रिक र बामपन्थी पार्टी नरहेको समेत दाबी गरे । ‘समाजवादी मोर्चाको नाममा बामपन्थीहरु मिलेर बनाएको भनिएको मोर्चा सम्पूर्ण रुपमा एमाले विरुद्ध परिचालित छ । हामीले एमाले भन्दा अर्को लोकतान्त्रिक र बामपन्थी पार्टी छैन र त्यो भन्दा बाहिर रहेर हुँदैन भन्ने प्रमाणित गर्नुपर्नेछ’ उनले भने ।

उनले पार्टीका आन्तरिक लोकतन्त्रलाई अझै मझ्बुत बनाउनुपर्ने बताए । यद्यपी एमाले भित्रको जस्तो आन्तरिक लोकतन्त्र अरु पार्टीमा नरहेको उनको भनाई छ । यसलाई जोगाएर लैजानु आजको चुनौति रहेको उनले बताए ।

चुनाव भएपछि पाटी फुटिहाल्छ र सर्वसम्मत गरेपछि पार्टी निरंकुस हुन्छ भन्ने दुबै कुरा गलत रहेको उनको भनाई । परिस्थिति अनुसार चुनावी प्रक्रिया र सर्बसम्मत सबैको महत्व रहने उनले धारण राखे । ‘हमेसा चुनाव र हमेसा सर्वसम्मत दुबै ठिक हैन ।’ उनले भने, ‘समय परिस्थिति अनुसार प्रतिस्पर्धा र सर्वसम्मत दुबै विधि अपनाउनुपर्छ । यसले आन्तरिक लोकतन्त्रलाई झन मजबुत बनाउँछ ।’

एमाले सधै लोकप्रिय हुनुको कारण यसमा रहेको आन्तरिक लोकतन्त्र नै प्रधान रहेको उनले बताए । एमालेसंग लोकतान्त्रिक प्रक्रियाका विषयमा अरु पार्टीको तुलना हुनै नसक्ने उनको भनाई छ । मिसन ०८४ लाई मध्यनजर गरेर पार्टीको आन्तरिक जीवनलाई मजबुद्ध बनाउने चुनौती एमालेमा रहेको धारणा राख्दै उनले एमाले कमजोर रहँदा स्वाधिनताको आन्दोलन र समृद्धिको अभियान अलपत्र पर्ने बताए ।

 

  • १९ आश्विन २०८०, शुक्रबार १२:३६ प्रकाशित