बझाङमा हालसम्म ३०० बढी पराकम्प

केन्द्रभाग मिडिया

काठमाडौं ।

बझाङमा गत मंगलबारको भूकम्पपछि पराकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९ म्याग्निच्युडको परकम्प गएको छ । केन्द्रका अनुसार मंगलबारयता तीन सयभन्दा धेरै साना–ठूला परकम्प गएका छन् ।

गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अहिले पनि परकम्प जाने र धक्का महसुस भइरहेको जानकारी दिएका छन् । उनका अनुसार धक्का जाने क्रम विगतको तुलनामा काम हुँदै गएपछि स्थानीयको जनजीवन विस्तारै सामान्य हुँदै जान थालेको छ । ‘मंगलबार र भोलिपल्ट पनि कोही पनि घरभित्र बस्न सक्ने अवस्था थिएन । तर अब भने विस्तारै घरमा जाने र कामकाज गर्ने क्रम सुरु हुन थालेको छ ।’

घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थानमा टेन्टमुनि बसिरहेका छन् । भूकम्प प्रभाविहरुलाई राहत बाँड्ने क्रम जारी छ ।प्रदेश सरकारले उपलब्ध गराएको राहत बिहीबार बझाङ पुगेको छ ।

  • १९ आश्विन २०८०, शुक्रबार ११:०४ प्रकाशित