पोखरा बसपार्क व्यवस्थित गर्दै पोखरा महानगर

२०५ रोपनी जग्गा भएको बसपार्कमा जम्मा २५ रोपनीमा मात्र बस पर्किङ गर्न मिल्छ !

केन्द्रभाग मिडिया

पोखरा ।
लामो समय देखी अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण भएका छन् । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका काउन्टर तथा ग्यारेज र अटो पार्टसका पसलहरू हटाइएका छन् ।

बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ । बसपार्कलाई तत्काल अल्पकालीन र बिस्तारै दिगो रूपमा व्यवस्थापन गर्ने गरी योजना अघि बढाइएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक अमृत शर्मा तिमिल्सीनाले बताए ।

उनका अनुसार पोखरा बसपार्क तत्काल व्यवस्थापनको विकल्प छैन । यसलाई बिस्तारै व्यवस्थापन गर्दै अतिक्रमित बसपार्कको पुरै जमिनमा बसपार्क बनाउनु पर्दछ । बसपार्कको समस्या निकै लामो समयदेखिको समस्या भएको उनले बताए । यसको व्यवस्थापनमा कयौँ चुनौतीहरू रहेका भए पनि महानगरपालिका यस कार्यका निरन्तर लागिरहेको उनले बताए ।

नगरप्रमुख धनराज आचार्यका अनुसार पर्यटन राजधानीका रूपमा घोषणा हुने अन्तिम तयारीमा रहेको पोखरामा व्यवस्थित सिटी बसपार्क निर्माण गरिनेछ । बसपार्कको जमिनमा बसिरहेका वास्तविक भूमिहीनहरूको उचित व्यवस्थापन गरी बसपार्कका लागि छुटाइएको अधिकतम जमिनमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजनामा आफूहरू रहेको उनले बताए।

मुलुक कै दोस्रो ठुलो सहर पोखरा सातै प्रदेशको यातायात सञ्जालसँग जोडिएको छ । पोखराबाट साना तथा ठुला गरी दैनिक हजारौँ सवारीसाधानहरु देशभरिका लागि छुट्ने गर्दछन् ।

२०५ रोपनी जग्गा, २५ रोपनीमा बस पार्कीङ गर्न मिल्छ

झण्डै ४८ बर्ष अगाडि अर्थात १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बिहिन छ । बसपार्कका लागि छुट्याइएको पूर्वमा सेतिनदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको २ सय ५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ । सुकम्बासीका नाममा अतिक्रमण गरेर बनाइएका घरटहरालाई समेत हेर्ने हो भने अहिले मुस्किलले २५ रोपनी जमिन बस पार्किङ गर्न मिल्ने अवस्थामा रहेको पोखरा उपत्यका नगरविकास समतिका पूर्व अध्यक्ष विश्वप्रकास लामिछाने बताउँछन् । बसपार्क पुगेर हेर्दा पूर्व अध्यक्ष लामिछानेको भनाई पुष्टी हुन्छ ।

यसरी घट्यो बसपार्कको जग्गा

विभिन्न दलले आफ्नो भोट बैंकको रुपमा प्रयोग गर्ने यि सुकुम्बासी हटाउने इच्छाशक्ति राजनीतिक दलमा नदेखिएकाले तत्कालै बसपार्कका लागि काम अगाडि बढाउने अवस्था छैन । एक भएर निस्वार्थ विकास निर्माणमा अघि बढ्ने भन्दा पनि भोटको राजनीतिमा रमाउने दलहरुको अभ्यासले बसपार्क अलपत्र परेको हो ।

पोखरा उपत्यका नगरविकास समितिका तत्कालिन अध्यक्षहरु असोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोलका पालामा विभिन्न ब्यक्ति र सस्थाको नाममा बसपार्कको जग्गा दिने निर्णय भएको छ । तत्कालिन अध्यक्ष पालिखेले सार्वोच्चमा मुद्धा परेकाले ४ रोपनी बराबर एउटा ९÷१५को घडेरी दिने निर्णय गरेर मिलाएको जानकारी दिएका छन् ।

उनले तत्कालिन समयमा विवाद मिलाउन यो गर्नै पर्ने बाध्यता रहेको जिकिर गरे । पछि तत्कालिन अध्यक्ष क्षेत्रबहादुर केसी र विष्णु बास्तोलका पालामा जग्गा दिने काम भएको पोखरा उपत्यका नगरविकास समितिका कर्मचारीले जानकारी दिएका छन् । एयरपोर्ट बनाउने बेला उत्तर पूर्वी कुनामा बसेका होटेल व्यवसायीहरुलाई बसपार्क कै जग्गामा सारिएको थियो ।

त्यस मध्ये पश्चिम लाइनमा ३१ वटा घडेरी ३ लाखका दरले, दक्षिण लाइनमा ११ वटा घडेरी २ लाख ६० हजारका दरले र होटेल पूर्वी लाइनमा ३४ घडेरी मध्ये ३२ वटाको १ लाख ८० हजारका दरले दिइएको पोखरा उपत्यका नगरविकास समितिमा अभिलेख छ । असोक पालिखे २२ मंसिर २०५६ देखि १३ आसोज २०६० सम्म पोखरा उपत्का नगर विकास समितिका अध्यक्ष थिए ।

क्षेत्र बहादुर केसी १४ असोज २०६० देखि २५ असोज २०६१ सम्म अध्यक्ष थिए । विष्णु प्रसाद बास्तोला २६ असोज २०६१ देखि १५ कार्तिक २०६३ सम्म, १८ माघ २०६७ देखि २६ बैशाख २०६८ सम्म र १३ बैशाख २०७० देखि १ बैशाख २०७२ सम्म गरेर ३ पटक उपत्यका विकास समितिका अध्यक्ष बनेका थिए ।

  • १८ आश्विन २०८०, बिहीबार २०:३३ प्रकाशित