चाडवाड भित्रिएसंगै पोखरामा बजार अनुगमन तीव्र

व्यवसायीलाई सचेत गराउँदै र जरिवाना गराउँदै बजार अनुगमन समिती

केन्द्रभाग मिडिया

 

पोखरा ।

चाडवाडका बेला उपभोक्ता ठगिन नदिने भन्दै पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीको अगुवाईमा बजार अनुगमन समितिले पोखरामा अनुगमनलाई तीव्रता दिइएको छ । यसैक्रममा बिहीबार एउटा खाद्यान्न पसल र एउटा मासु पसलमा अनुगमन भएको छ ।

पोखराको सृजना चोक नजिक रहेको दाङ भ्याली फ्रेस हाउस र रत्नचोक नजिक रहेको निकी ट्रेडर्समा अनुगमन गरिएको होे । अनुगमन टोलीले अनगुमनको क्रममा केही म्याद गुज्रेका सामान पाइएपछि निकी ट्रेडर्सलाई सचेत गराएर छोडेको छ । म्याद नाघेको मिति भेटिएको सगरमाथा चिल्ली सस १ बोत्तल नष्ट गरेको छ ।

दाङ भ्याली फ्रेस हाउसलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त फ्रेस हाउसमा खशी र कुखुराको मासु एकै स्थलमा राखेर व्यापार गरिएका पाइएको थियो । यसका साथै डि फ्रिजको तापक्रम नमिलाई राख्ने गरेको पाइनुका साथै सरसफाइमा दिन भनिएको छ । उक्त प्रेस हाउसलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३७ को घ अनुसार कसुरमा दफा ३९ को (क) अनुसार कारवाही गरिएको हो । पर्यटन, उद्योग, वाणिज्य तथा उपभोत्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण ढकालका अनुसार कागेजात सहित ३ दिन भित्र उपस्थित हुन फ्रेस हाउस सञ्चालकलाई निर्देशन दिइएको छ ।

पर्यटन उद्योग बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय पोखराका निर्देशक ढकालको संयोजकत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि, खाद्य कार्यालय कास्कीका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि, गुणस्तर तथा नाप तौल कार्यालयका प्रतिनिधि र संञ्चारकर्मीको सहभागिता थियो ।

निर्देशनालयका प्रवक्ता प्रदिप कुमार रेग्मीका अनुसार पछिल्लो समय झण्डै २ दर्जन पसलहरुमा अनुगमन भएको छ । अनुगमनका क्रममा विगतमा भन्दा सुधारिएको पाइएको उनले बताए । यसरी अनुगमन गर्दा केहीलाई सचेत गराएर आइन्दा सुधार गर्न र पटक पटक आग्रह गर्दापनि लापरबाही गर्नेलाई उपभोक्त ऐन अनुरुप कारबाही भएको उनले जानकारी दिए ।

निर्देशक ढकालले उपभोक्ताको हितमा ध्यान दिँदै बस्तु तथा सेवा उचित मूल्यमा प्रदान गर्न व्यवसायीलाई आग्रह गरेका छन् । राज्यको कानून बमोजिम सबै प्रक्रिया पुरा गरेर तोकिएको मापदण्डमा सेवा प्रदान गर्न उनले आम उद्योगी व्यवासयीलाई आग्रह गरेका छन् । उपभोक्तालाई पनि उपभोग्य वस्तु तथा सेवाको गुणस्तर र मिती हेर्न उनको अनुरोध छ । उपभोक्त ठगि भएको र तोकिएको भन्दा फरकढंगले बस्तु तथा सामान विक्री गरेर ठगि गरेको पाइएमा सम्बन्धित निकायमा खबर गर्नपनि उनले भनेका छन् ।

धेरै पैसा तिरेर थोरै मूल्यको बिल लिनुपर्ने बाध्यतामा व्यवसायी

खाद्य उत्पादन कम्पनी र ठूला डिलरहरुले साना डिलर तथा खुद्रा विक्रेतालाई धेरै मूल्य लिएर कम रकमको बिल दिने गरेको पाइएको छ । व्यवसायीका अनुसार चिनी प्रति बोराको मुल्य ६ हजार देखि ६१०० रुपैयाँ सम्म लिएर ५२०० रुपैयाँको बिल दिने गरेको पाइएको हो ।

जसका कारण उपभोक्तालाई आफूहरुले महंगोमा चिनी बेच्नु परेको साना व्यवसायीले गुनासो गरेका छन् । निकी टेर्डसका सञ्चालक किरण कुमार जिसीले आफूहरुले किने अनुसारको बिल नपाउँदा धेरै मार्जिन राखेजस्तो देखिएको गुनासो गरे । ‘उत्पादक कम्पनी र ठूला होलसेल पसलेले लिनेभए यतिमा लिनुस बिल यतिको आउँछ भन्छन् ।’ उनले भने, ‘सबै व्यवसायी यसैको मारमा छौं । कसलाई के भन्नु, यहाँ धेरैजसो सामानको बिल थोरै लिएर पैसा धेरै तिर्नु परिरहेको छ ।’

किनेको मूल्यलाई समेत मध्येनजर गरेर २० प्रतिशत मात्र नाफा देखिनेगरी कारोबार गर्नुपरेको उनले सुनाए । उनले आफूले १२० रुपैयाँ प्रति किलो चिनी बेच्ने गरेको जानकारी दिए । तर, व्यवसायीलाई १२५ रुपैयाँ प्रतिकिलो चिनीको मूल्य लिनु पर्ने बाध्यता सुनाए । पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय पोखराका निर्देशक नारायण ढकालले जति मूल्य तिरेको हो त्यति नै बराबरको बिल लिनुपर्ने बताए । त्यसो नगरेको प्रमाणित भए कानून अनुसार कारबाही हुने समेत उनले जानकारी दिएका छन् ।

  • १८ आश्विन २०८०, बिहीबार १९:४५ प्रकाशित