एमाले गण्डकीको नेतृत्व चयन प्रक्रिया लम्बियो, भोलि ८ बजेदेखि मतदान

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनका लागि ३८२ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । नवराज शर्मा र मायानाथ अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएको निर्वाचन कमिटिले जानकारी दिएको छ । अधिकारी एमाले केन्द्रीय सदस्य हुन् भने शर्मा तदर्थ समितिका अध्यक्ष हुन् ।

साँझ ५ बजे पछि सार्वजनिक भएको सूचिअनुसार पदाधिकारी ५ सहित १६५ पदका लागि ३८२ जनाले उम्मेदवारी दिएको निर्वाचत मण्डलका प्रमुख सुरेन्द्र थापा मगरले जानकारी दिए ।

शर्मा उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थनमा उम्मेदवार बनेका हुन् भने अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन छ । उपाध्यक्षमा मीनप्रसाद गुरुङ र बाबुराम विक, सचिवमा धनञ्जय दवाडी र रश्मि आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर विक र सन्तोष रावलले उम्मेदवारी दर्ता गराएका छन् । सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मीना गुरुङले उम्मेदवारी दिएका छन् ।

बिहान ७ बजेबाट सुरु भएको मनोनय दिनभर चलेको थियो । आजै मतदान गर्ने भनिए पनि तयारी पुरा नभएकाले आज मतदान हुने सम्भावना कम रहेको बताइएको छ ।

अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि पोखराका विभिन्न होटलमा बसेका छन् ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चुन्न अझै पनि प्रयास भैरहेको नेताहरुले बताएका छन् ।  नयाँ नेतृत्वका बिहीबार बिहान मतदान हुने भएको छ । यसअघि बुधवार साँझ मतदानको कार्य तालिका रहे पनि दिनभर पानी परेकाले मतदानको समय बिहीबारलाई सार्नुपरेको हो ।

उम्मेदवारको प्रारम्भिक नाम सार्वजनिक गरेर निर्वाचन कमिटीले दाबी विरोध, उम्मेदवारी फिर्ता लिने काम थालेको छ । बिहीबार बिहान ८ बजेपछि मतदान थाल्ने निर्वाचन कमिटीको तयारी छ ।

  • १७ आश्विन २०८०, बुधबार १७:५६ प्रकाशित