एमाले गण्डकी अधिवेशन

प्यानल बनाए उम्मेदवारी खारेज हुने चेतावनी दिने नेतृत्व नै प्यानल निर्माणमा !

पृथ्वी सुब्बा गुरुङले नवराज शर्माको समूह र खगराज अधिकारीले मायाँनाथ अधिकारीको समूहको पक्षमा प्रतिनिधिसंग लविङ

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेले आफ्नो प्रदेश अधिवेशनमा प्यानल बनाएर निर्वाचन लड्न निषेध गरेको जानकारी गराउँदै प्यानल बनाए उम्मेदवारी खारेज हुने चेतावनी दियो । गण्डकी प्रदेशका इन्चार्ज एवं पार्टीका सचिव गोकर्ण विष्टले प्यानल बनाए उम्मेदवारी खारजे हुने पत्रकार भेटघाटमै र सञ्चारकर्मीसंग पटक पटक दोहेर्याए । तर, नेताहरुको प्यानल खडा गर्न स्वयम नेताहरु नै कम्मर कसेर लागेको सार्वजनिक भएको छ । गण्डकीमा मायाँनाथ अधिकारी र नवराज शर्माले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

मायानाथ अधिकारी नेतृत्वको समूहमा उपाध्यक्ष, सचिव, उपसचिवमा उठाउने उम्मेदवार तयार पारेको सार्वजनिक भएको छ । नवराज शर्मा नेतृत्वको समूह अहिलेकै नेतृत्व दोहारिने भनिसकेपछि त्यही नै हुने उक्त समूहका एक नेताले जानकारी दिए । ‘नेतृत्व दोहोरिने भनेपछि स्वभाविक रुपमा सबै त्यही टिमको हो भनेर बुझ्नुपर्छ । त्यसमा कसको जिम्मेवारी कता बढ्ता आवशयकता छ भनेर छलफल गर्दैछौं । केही तलमाथि हुन सक्छ’ ति नेताले केन्द्र खबरलाई प्रतिक्रिया दिए । वर्तमान अध्यक्ष समेत रहका शर्मा अध्यक्ष र सचिव धनञ्जय दवाडीले सोही पदमा उम्मेदवारी दिने निश्चित नै भएको र बाँकीकुरा सल्लाह गरेर मिलाइने उनको भनाई छ ।

एमाले केन्द्रीय सदस्य राजीव पहारीले सहमतिको अधिकतम पहल गर्दा नभएपछि अधिकारी प्यानलबाट उपाध्यक्ष नवलपुरका बाबुराम विक, सचिव कास्कीका रश्मि आचार्य, उपसचिव म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरुङ उम्मेदवार बन्ने तयारी गरिएको जानकारी दिए ।

एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व छान्न बुधबार निर्वाचन हुँदैछ । नेतृत्व छान्न बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको छ । निर्वाचन कमिटीका अनुसार बुधबार बिहान १० बजे उम्मेदवारी फिर्ता लिने समय दिईने र १ बजेदेखि मतदान नै हुनेछ ।

सोमबार उद्घाटन भएर शुरु भएको एमाले गण्डकीको प्रथम अधिवेशनमा बुधबारदेखि चुनावी प्रक्रिया शुरु भएको छ । निर्वाचन कमिटीले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया शुरु भएको जनाएको हो । चुनावी प्रक्रिया शुरु भएपछि पार्टीका शीर्ष नेताहरुले सहमतिका लागि थप समय चाहियो भनेर माग भएपछि थप समय दिइएको निर्वाचन समितिले जनाएको छ ।

नया नेतृत्व सहमतिमा चुनिने सम्भावनाको ढोका बन्द भइसकेको संकेत नेताहरुले गरेका छन् । उपमहासचिव पृथ्वी सुब्बा गुरुङले वर्तमान अध्यक्ष रहेका नवराज शर्माको समूह र स्थायी कमिटी सदस्य खगराज अधिकारीले मायाँनाथ अधिकारीको समूहको पक्षमा प्रतिनिधिसंग लविङ गरेका एक नेता बताउँछन् । उक्त पार्टीका नेता कार्यकर्ताहरुले नै नवराज शर्मा र धनञ्जय दवाडी र मायाँनाथ अधिकारी र रश्मि आचार्यको तस्बिर राखेर जितको शुभकामना दिन सुरु गरिसकेका छन् ।

  • १६ आश्विन २०८०, मंगलवार २०:४८ प्रकाशित