बझाङमा ६.३ म्याग्निच्युडको दोस्रो भूकम्प, ३ जना घाइते, ठूलो भैतिक क्षति भएको अनुमान

केन्द्रभाग मिडिया

पोखरा ।

बझाङमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार जिल्लामा अहिलेसम्म भूकम्पका कारण ३ जना घाइते भएको खबर प्राप्त भएको छ । मष्टा गाउँपालिका वडा नम्बर १, २ र ५ मा एक/एक जना गरी ३ जना घाइते भएका गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहोराले केन्द्र खबरलाई जानकारी दिए । त्यसैगरी जयपृथ्वी लोकमार्गको दुई ठाउँमा धुले पहिरो गएको छ । वडा नम्बर ७ कचाली खोलामा र छविस पाथीभरा वडा नम्बर १ जाले बगरमा धुलेपहिरो जाँदा सवारी आवागमन रोकिएको छ ।

मष्टा गाउँपालिकाका अध्यक्ष बोहोराका अनुसार मष्टा गाउँपालिकामा रहेका घरहरु मध्ये ८० प्रतिशत घर चर्किएका छन् । १० प्रतिशत घरहरु पुरै क्षति भएको प्रारम्भिक अनुमान रहेको उनले बताए । त्यसैगरी विद्यालय भवनहरु समेत भत्किएका छन् ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।

यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । पटक(पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् ।

सिडीओ पाण्डेयले भूकम्पको धक्का छिनछिनमा महसुस भइरहेको जानकारी दिए । भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ ।

  • १६ आश्विन २०८०, मंगलवार १७:२८ प्रकाशित