मणिपालका डाक्टरलाई पिट्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशी जिल्लामा तानिए

केन्द्रभाग मिडिया

पोखरा ।

मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिट गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।

बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँएका इन्स्पेक्टर श्रेष्ठले ‘डाक्टरहरूलाई साफ चुटेर आएँ’ भन्दै भीडमा अभिव्यक्ति दिएका थिए । अभिव्यक्तिमार्फत भिडलाई उक्साएका

श्रेष्ठलाई तत्काल अनुसन्धानका लागि निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महारीक्षक बुद्धिराज गुरुङले जानकारी दिए ।

उनीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत बनेको छ ।मणिपालमा शान्ति सुरक्षाकै लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएका छन् ।

सोमबार मणिपाल अस्पतालमा उपचाररत ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो । त्यसपछि दुराका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भएको थियो । चिकित्सकमाथि हातपात भएको बन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । भने आज पोखराका अस्पताहरुमा आकस्मिक बाहेकका सेवाहरु बन्द रहेका छन् ।

  • १० आश्विन २०८०, बुधबार १६:४२ प्रकाशित