दशैं लक्षित सहुलियत पसल

२१ असोजदेखि सरकारले सहुलियत पसल सञ्चालन गर्ने, २२ प्रकारका उपभोग्य वस्तुमा छुट

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ ।मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरको अनुसार सहुलियतपूर्ण पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने छन् । ३ मंसिरसम्म सञ्चालन हुने सहुलियतपूर्ण पसलमा २२ प्रकारका उपभोग्य वस्तुमा छुट पाइने मन्त्रालयले जनाएको छ ।

सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

देशभर ९८ स्थानमा सहुलियत पसल

मन्त्रालयकाअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान गरी तीन वटा निकायले ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउनेछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपत्यका भित्र काठमाडौंको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालनमा आउनेछन् ।

उपत्यका बाहिर भने मोरङ, झापा, ताप्लेजुङ, सङ्‍खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्‍गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङमा सहुलियत पसल सञ्चालनमा आउनेछन् ।

यसैगरी रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डँडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियत पसल सञ्चालनमा आउने छन् ।

यस्तो छ छुटदर 

मन्त्रालयकाअनुसार सहुलियत पसलमा कम्तीमा ७ रुपैयाँदेखि बढीमा ५० रुपैयाँसम्म छुट पाइने छ ।

चामल (मोटा,मसिनो,लङग्रेन), दालहरु, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सन् फ्लावर तेल, भट्मासको तेल र चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट पाइने छ ।

कर्णालीको सिमी र गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो १० रुपैयाँ सहुलियत पाइने छ । कम्पनीले आयात गर्ने जिउँदो खसी र बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ ।

यस्तै नुनमा प्रतिकिलो २ रुपैयाँ, खाने तेलमा प्रतिलिटर ७ रुपैयाँ र चिउरामा प्रतिकिलो ७ रुपैयाँ नै छुट पाइने छ ।साल्ट ट्रेडिङले अहिले ९७ रुपैयाँ किलोमा चिनी बिक्री गरिरहेको र यसलाई निरन्तरता दिन प्रयास गर्ने मन्त्रालयले जनाएको छ ।

दुग्ध विकास संस्थानले बिक्रि गर्ने घिउमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा प्रति २०० ग्राममा २० रुपैयाँ र पनिर ५०० ग्रामको खरिदमा ५० रुपैयाँसम्म छुट पाइने मन्त्रालयले जनाएको छ ।

  • ९ आश्विन २०८०, मंगलवार १६:१९ प्रकाशित