पोखरामा बजार अनुगमन तीव्र : म्याद गुज्रेको सामान बेच्ने शेरचन स्टोर्स र गौरव ट्रेडर्सलाई १ लाखसम्म जरिवाना

केन्द्रभाग मिडिया

पोखरा ।

चाडबाड नजिकिएसगैँ पोखरामा बजार अनुगमन तीव्र पार्न थालिएको छ । यसैबीच पोखरामा बजार अनुगमनका क्रममा रत्नचोकस्थित मीनबहादुर शेरचन स्टोर्सले म्याद गुज्रेको सामान बेच्ने गरेको पाइएको छ । म्याद सकिएको सामान विक्री गर्ने गरेको पाइएपछि उक्त स्टोर्सलाई जिल्ला स्तरीय बजार अनुगमन समिति कास्कीले १ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

समितिले हिजो(सोमबार)गरेको अनुगमनमा म्याद गुज्रेको सामान विक्री गरी उपभोक्तालाई ठगी गरेको पाइएपछि १ लाख जरिवाना तोकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले जानकारी दिएका छन् ।

उनका अनुसार सो स्टोर्सबाट पाँच लिटर १२ ग्यालिन तोरीको तेल लेबलिङ नभएको, मिट मसला दुई प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेटलगायतका करिब रु २८ हजार नौ सय ६० बराबरको म्याद गुज्रेको सामान नष्ट गरिएको छ ।

यसैगरी दालको लेवल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै चेतावनीसमेत दिएको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको छ ।

त्यसैगरी पोखरा–३ पालिखेचोकमा रहेको गौरव ट्रेडर्समा पनि म्याद गुर्जेको १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापड लगायतका सामग्री भेटिएपछि नष्ट गरिएको छ । सो स्टोर्सका सञ्चालकलाई रु १० हजार जरिवाना गरिएको छ ।

यस्तै सोही स्थानमा रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेको ११ किलो सुजीसहित नष्ट गरी सो पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ । सो पसललाई  ५ हजार जरिवानासमेत तोकेको छ ।

यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित तीन दिनभित्र जिल्ला प्रसाशन कार्यालय कास्कीमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

  • ९ आश्विन २०८०, मंगलवार ०९:१७ प्रकाशित