उपचारको क्रममा एक महिलाको ज्यान गुमेपछि मणिपालमा तनाव

अस्पतालका स्वास्थ्यकर्मी तथा बिद्यार्थी र पीडित बीच हानाहान, एकजना प्रहरी नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा एक महिलाको ज्यान गुमेपछि तनाव उत्पन्न भएको छ । लमजुङ शुन्दर बजारकी ५७ बर्षीया सुकमाया दुराको उपचारकै क्रममा सोमबार ज्यान गुमाएपछि उनका आफन्तले अस्पतालका डाक्टरलाई हातपात गरेपछि तनाव उत्पन्न भएको हो ।

हातमापातमा संलग्न रहेको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पोखरा ५ मालेपाटनका ३४ वर्षीय विजय गुरुङलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।

अस्पतालका स्वास्थ्यकर्मी एवं बिद्यार्थी र पीडितका आफन्त बीच उत्पन्न तनाव नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरी प्रवक्ता विकले बताए । ‘स्थिति साम्य भइसकेको छैन । यद्यपी हामीले परिस्थिति नियन्त्रणमा लिने प्रयासमा छौं’ उनले भने ।

आइतबार साँझ करिब ४ः०० बजे उपचार गर्न अस्पताल ल्याइएकी दुराको उपचारका क्रममा आज दिउँसो करिब ३ः०० बजे ज्यान गुमेको अस्पतालले जानकारी दिएको थियोे । पीडिका आफन्तले आँफै हिडेर आएकी बिरामी एक दिन उपचार गराउँदा ज्यान गुमाउनुको कारण सहित दोषीउपर कारवाहीको माग गरेका छन् ।

पीडितको कुरा नसुनी अस्पताल प्रशासनले आफुहरु माथि उल्टै जाइलागेको पीडितका आफन्त नविन लामाले बताए । उपचारकै क्रममा ज्यान गुमेको घटना बारे आफूहरुले सत्य तथ्य बुझ्न खोज्दा ३ जनालाई अस्पताल प्रशासनले बन्धक बनाएको उनले आरोप लगाए ।

दुरा लमजुङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि मणिपाल आएकी थिइन् । विरामीको केको सल्यक्रिया गरियो र के औषधी चलाइयो भन्ने बिषयमा समेत आफन्तलाई जानकारी नगराइएको विरामीका आफन्तको गुनासो छ । यो समाचार तयार पार्दासम्म (राति ९ : ०००) अस्पताल भित्र अस्पतालकै स्वास्थ्यकर्मी एवं बिद्यार्थी र पीडितका आफन्तहरु बीच एक आपसमा भनाभन हुदै पानीका वोतलले एक आपसमा हानाहान चलिरहेको छ ।

अस्पतालका स्वास्थ्यकर्मी तथा बिद्यार्थी र पीडित बीच झडक हुँदा अस्पतालमा उपचार गर्न पुगेका विरामी तथा उनका कुरुवाहरु समेत त्रसित छन् । घटनाको बिषयमा अस्पतालका सञ्चालक नारायण पौडेलले पीडितका आफन्तहरुले अस्पतालका डा.अनिल शाह माथि हातपात भएको जानकारी दिए । उक्त घटनाको बिषयमा कानून बमोजिम दोषी उपर कारवाहीको प्रक्रियामा आफूहरु जाने उनले बताएका छन् ।

 

  • ८ आश्विन २०८०, सोमबार २१:१७ प्रकाशित