पोखरा ।
माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज (सोमवार) त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले हरायो । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १/१ गोल गरे ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसंग १–० गोल अन्तरले पराजित भएको थियो ।
खेलको १६औं मिनेटमा प्रशान्तले गरेको लङ रेञ्ज प्रहार पोस्टको माथिल्लो भागबाट जाली चुम्न पुगेको थियो । यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।
तर ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्कायो । ८८औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३–१ ले जिताए ।
खेलमा सुरुदेखि नै नेपालले दबाब बनाएको थियो । छैटौं मिनेटमा निराजन धामीको पासमा प्रशान्त लक्समको प्रहार पोष्टबाट बाहिरियो । त्यसको दुई मिनेट पछि नै धामीले दायाँबाट हानेको बल पोष्ट माथिबाट बाहिरियो ।
नेपालले पहिलो गोल गरेपछि माल्दिभ्सले बल चलाए लगत्तै नेपालका राइट विंगर सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन लड्न पुगे ।
अगाडि बढेका हसनलाई सुजनले कुमले धकेलेका थिए । त्यसपछि लडेका हसन सुजनप्रति आक्रामक भए । त्यसपछि रेफ्रीले असिस्टेन्ट रेफ्रीहरुसँग सल्लाह गरेर दुवै खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।