गण्डकी एमाले अधिवेशनको तयारी तीव्र

केन्द्रभाग मिडिया

गण्डकी ।

नेकपा एमाले प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । एमाले गण्डकीले यहि असोज १५ र १६ गते हुने अधिवेशनको तयारी तीव्र पारेको हो ।

प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिएका छन् । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने उनले बताए ।

नौ सय बढी प्रतिनिधिले अधिवेशनमा भाग लिने जनाइएको छ । प्रतिनिधि चयनमा सर्वसम्मतको प्रयास भइरहेको छ सचिव दवाडीको भनाई छ । प्रदेश अधिवेशनमा प्रतिनिधि बनेर आउनका लागि चार केन्द्रीय सदस्यले समेत मनोनयन दर्ता गराएको एमालेले जनाएको छ ।

केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा र रामशरण बस्नेतले मनोनयन दर्ता गरेका छन्। अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रदेश अध्यक्षको आकङ्क्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्यलगायतको नाम चर्चामा छ । केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वमा आउने चाहना राखेर प्रतिनिधि छनोटका लागि मनोनयन दिएको बुझिएको छ ।

अधिवेशनको १५ गते अमरसिंह चौरमा उद्घाटन र बन्द सत्र असोज १६ गते पोखरा सभागृहमा हुने एमाले गण्डकी सचिव दवाडीले बताए ।

  • ८ आश्विन २०८०, सोमबार ०९:१८ प्रकाशित