पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहहरूको बार्षिक समिक्षा सम्पन्न गरेको छ । समापनको अवसरमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले स्थानीय तहरुलाई विकासका काममा अर्जुन दृष्टि लगाउन आग्रह गरेका छन् र
कतिपय कार्यालयमा विकास बजेट पूर्ण रूपमा खर्च हुन नसकी आयोजनाको प्रभावकारिता कम भएको तर्फ चालू आर्थिक वर्षमा सबैको ध्यान पुग्नु पर्ने र गत वर्षका कमजोरी फेरि नदोहोर्याउने गरि काम गर्न पौडेलको आग्रह छ ।
पौडेलले योजना निर्धारित समयमा सम्पन्न गर्न देखिएका नितिगत समस्या निराकरणमा पहल गर्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउने बताए ।
पौडलले विकासमा जस लिने होडबाजी र अनेकन बहानामा देखिने विभाजित मानसिकता विकासको मुख्य बाधक भएको बताए ।उनले चालु आर्थिक बर्षको कार्यसम्पादन योजना सहित अगाडी बढ्न क्यालेन्डर नै निर्माण गरि चरणबद्ध काम गर्न आग्रह गरे ।
सो अवसरमा स्थानिय तह सहित सरोकारवाला कास्कीका कार्यालयहरूले बार्षिक समिक्षा सहित बजेट कार्यान्वयन तालिका प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।
आइतबार कास्कीका पाँचवटा पालिका सहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय ,पशु सेवा बिज्ञ केन्द्र लगायतका कार्यालयले समिक्षा प्रतिबेदन प्रस्तुत गरेका थिए।
यसअघि संघ सरकार र प्रदेश सरकार मातहतका बिकासे र बिषयगत कार्यालयहरूको समिक्षा सम्पन्न भैसकेका छन।
जिसस कास्कीको उक्त समिक्षा कार्यक्रम तिनदिन सम्म सञ्चालन भएको थियो। समिक्षा कार्यक्रममा कास्कीका पाँचवटा पालिकाका प्रमुख ,उप प्रमुख सहित प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो।














