सरकारसँगको सम्झौता उपलब्धिमूलक रहेको आन्दोलित शिक्षकहरुको निष्कर्ष

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारसँग गरिएको ६ बुँदे सम्झौता उपलब्धिमूलक रहेको विद्यालय कर्मचारीहरूले निष्कर्ष निकालेका छन् । नेपाल सामुदायिक विद्यालय कर्मचारी परिषद्ले सरकारसँग गरेको सम्झौता विद्यालय कर्मचारीहरूको हकमा उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको हो ।

असोज ५ गते सरकारसँग गरेको सहमति अनुसार विद्यालय कर्मचारीले उठान गर्दै आएका माग मुद्दाहरू सम्बोधन गरिएको छ । जसमा दरबन्दी समायोजन गर्ने विषय, सञ्चित बिरामी बिदा र औषधि उपचार खर्च पाउने विषय तथा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विषय सम्झौतामा समावेश गरिएको छ । जसलाई विद्यालय कर्मचारीको हकमा उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।

उक्त सहमति अनुसार संसदमा दर्ता भएको विधेयक संशोधनका लागि सङ्घीय सांसदहरूलाई प्रस्ताव राख्न दबाब दिने समेत जनाए । त्यसका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने सांसदहरूलाई लबिङ गर्ने लगायतका काम गरिने उनको भनाई छ । कर्मचारीहरूका अधिकांश माग पुरा भएको र सरकारसँग भएको सहमति विद्यालय कर्मचारीका लागि उपलब्धि मूलक भएको अध्यक्ष तिवारीले बताए ।

उनले काठमाडौँ केन्द्रित सडक आन्दोलनमा सहभागी भएका विद्यालय कर्मचारीहरूलाई विद्यालय फर्किएर दैनिक कार्यमा खटिन समेत अपिल गरेका छन् । विद्यालय कर्मचारीहरूले आफूहरूको पेसागत सुरक्षाको माग राख्दै विगतमा समेत काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए ।

  • ७ आश्विन २०८०, आईतवार १५:२७ प्रकाशित