पोखरामा डिडिसीको प्रशोधन उद्योग स्थापना गर्न कृषिमन्त्री भुसाल सकारात्मक

पोखराको हेम्जामा प्रस्तावित जग्गामा मन्त्री भुसालले गरे स्थलगत निरिक्षण

केन्द्रभाग मिडिया

पोखरा ।
कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले गण्डकी प्रदेशमा दुग्ध विकास संस्थान (डिडिसी)को प्रशोधन उद्योग स्थापनाको लागि सकारात्मक रहेको बताएका छन् ।

शनिबार पोखरा–२५ हेम्जामा डिडिसीको गण्डकी प्रदेश स्तरीय दुग्ध प्रशोधन उद्योग संचालनका लागि प्रस्तावित स्थालको अवलोकन गदै मन्त्री भुसालले यस्तो बताएका हुन् । उद्योग स्थापनाका लागि महानगरपालिकाको सहयोग हुनुपर्ने उनले बताए । भुसालले विगतमा के कारणले डिडिसी पोखराबाट बाहिरिन पुग्यो भन्ने चासो समेत राखेका थिए ।


पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, वडानम्बर २५ का अध्यक्ष एवं महानगरका प्रवक्ता मोतिलाल तिम्सिना लगायतको टोली स्थलगत अवलोकनका लागि  मन्त्री भुसाललाई लिएर उक्त स्थलमा पुगेको थियो । पोखरा बागलुङ राजमार्ग अन्तरगत  हेम्जा खण्डमा राजमार्गसगै जोडिएकोसार्वजनिक जग्गामा उद्योग स्थापनाका लागि प्रस्ताव गरिएको हो ।

राजमार्गसंगै जोडिएको जग्गा  उद्योग स्थापनाका लागि उपयुक्त हुने भएकाले उक्त जग्गा प्रस्ताव गरिएको महानगर प्रमुख आचार्यले बताए । सात प्रदेशमध्य छ प्रदेशमा दुग्ध विकास संस्थानका उद्योग रहेको र गण्डकी प्रदेशको पोखरामा पनि उद्योग स्थापना गर्न प्रमुख आचार्यले मन्त्री भुसाललाई अनुरोध गरे । महानगरको कार्यापालिका बैठकले पोखरा– २५ मा डिडिसीको प्रशोधन उद्योग राख्नका लागि सहजिकरण गर्ने निर्णय समेत गरेको आचार्यले जानकारी दिए ।


महानगरका प्रवक्ता तथा वडाध्यक्ष तिम्सिनाले स्थानीय र राजनीतिकहरु समेत उद्योग स्थापनाका लागि सकारात्मक रहेको जानकारी गराएका थिए । उक्त स्थानमा करिब २५ रोपनी सार्वजनिक जग्गा रहेको उनले जानकारी दिए । राजनीतिक दलका वडा प्रतिनिधि पनि जग्गा अवलोकनमा पुगेका थिए । सो अबसरमा उनिहरुले पनि उद्योग स्थापना गर्न सके स्थानीय कृषकले उत्पादन गरेको दुध सदुपयोग हुने भनाई राखे ।

महानगरले पोखरामा डिडिसीको प्रशोधन उद्योग स्थापनाका लागि यस पहिले पनि कृषि मन्त्रालय र दुग्ध विकास संस्थानको नेतृत्वसंग छलफल चलाउदै आएको छ ।

  • ६ आश्विन २०८०, शनिबार १६:११ प्रकाशित