चीनको हाङजाओ पुगे प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीले गरे स्वागत

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका चीन पुगेका छन् ।  चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् ।

हाङ्जाओ विमानस्थल अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न चिनियाँ उपप्रधानमन्त्री हि ली फाङ आफैँ विमानस्थल आए । आज नै चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री प्रचण्डसंग लन्च मिटिङ गर्ने कार्यक्रम छ । जसका लागि प्रचण्ड आफू बसेको रिसोर्टबाट सिहु होटलमा जानेछन्, जहाँ उनलाई चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले दिवा भोजसहित स्वागत गर्ने तयारी छ ।

सीसँग करिब एक घण्टा लन्च मिटिङपछि प्रचण्ड फेरि रिसोर्टमै फर्कने छन्। रिसोर्टबाट ४ बजेर २० मिनेटमा प्रचण्ड फेरि राष्ट्रपति सीसँग दुई पक्षीय भेटवार्ताका लागि उनी बसेको होटल सिहु जानेछन् । प्रधानमन्त्रीको भ्रमण तालिका अनुसार ४ बजेर ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म प्रचण्ड र सीबीच औपचारिक भेटवार्ता हुनेछ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यका अनुसार भ्रमण तालिकामा यो भेटवार्ता ३० मिनेटको राखिएको भए पनि लम्बिन सक्ने भएकाले त्यसपछिको केही समय खाली राखिएको छ ।

बेइजिङमा थप दुई वटा महत्त्वपूर्ण भेटवार्ता भए पनि हाङ्जाओमा हुने सी–प्रचण्ड शीर्ष भेटवार्ताले अबको नेपाल–चीन सम्बन्धलाई निर्देशन गर्नेछ । हाङ्जाओमा राष्ट्रपति सी र प्रचण्डबीच खासगरी दुई देशबीचको राजनीति, भूराजनीति र अन्तर्राष्ट्रिय क्षेत्रीय सम्बन्धका विषयमा छलफल हुने तयारी छ।

 

 

  • ६ आश्विन २०८०, शनिबार १०:२६ प्रकाशित