भलाममा ३० औं माधव स्मृति दिवस

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगर पालिका वडा न २० भलाममा सामाजिक अभियन्ता दिवङ्गत माधव प्रसाद पौडेलको स्मृतिमा स्थापित माधव प्रसाद पौडेल स्मृति प्रतिष्ठानको १५ औं साधारण सभा तथा ३० औं स्मृति दिवस बिहिबार सम्पन्न भएको छ। कार्यक्रमको जिसस कास्की प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।

सो अवसरमा प्रमुख पौडेलले माधव पौडेल एक कर्मशिल र इमान्दार शैक्षिक ,सामाजिक एवम् राजनितीक व्यक्तित्व भएको स्मरण गर्दै उनले पुर्याएको योगदान चिरकालसम्म स्मरणीय रहने बताए । पौडेलले उनलाई एक आदर्श शिक्षक ,उत्कृष्ट सामाजिक अभियन्ता ,आध्यात्मिक चिन्तक, इमान्दार राजनितिक व्यक्तित्व र कास्कीबाट कम्युनिस्ट आन्दोलनको कुशल अगुवा र गर्व गर्न लायक व्यक्तिको रूपमा चित्रित गरे।

सो अवसरमा प्रमुख अतिथी पौडेलले प्रतिष्ठानले प्रदान गर्ने उक्त वडाका विभिन्न विद्यालयका विद्यार्थिहरूलाइ छात्रवृत्ति समेत हस्तान्तरण गरेका थिए । प्रतिष्ठानले उत्कृष्ट नतिजा हासिल गर्ने कक्षा ९ र १० मा अध्ययनरत ८ जना विद्यार्थीहरूलाइ जनही नगद पाँच हजार छात्रवृत्ति र प्रमाणपत्र प्रदान गर्दै आइरहेको छ ।

यसरी छात्रवृत्ति प्राप्त गर्नेहरूमा महेन्द्र मा.वि रयालेचौरका सबिना पौडेल र समीर भुजेल ,हिमालय मा.वि.मौजाका रामकुमारी सुनार र प्रकाश गुरुङ ,कालिका मा.वि.काहुँका प्रतीक्षा आचार्य र समीर आचार्य ,बिन्ध्यबासिनी मा.वि.बाटुलेचौरका अञ्जली राना र समित पौडेल रहेका छन् ।

कार्यक्रममा रेडक्रस कास्कीका जनस्वास्थ्य विज्ञ कल्पना ज्ञवाली ,कास्की रेडक्रसका कार्यसमिति सदस्य रमा त्रिपाठी , सो प्रतिष्ठानका विशिष्ट सदस्यहरू बिष्णु बहादुर खत्री ,भिम प्रसाद बास्तोला र कृष्ण प्रसाद पौडेल ,बिन्ध्यबासिनी माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य , शिक्षासेवी शंकर गौतम , स्थानीय समाजसेवी चुडामणी गौतम ,नेपाली काङ्ग्रेस पोखरा २० का अध्यक्ष कुल प्रसाद अधिकारी , नेकपा एमाले पोखरा २० का अध्यक्ष त्रिलोचन गौतम ,लगायतले माधब प्रसाद पौडेलले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष रामजी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष इश्वरी प्रसाद पौडेल र संचालन सचिव हिम बहादुर बस्नेतले गरेका थिए ।

प्रतिष्ठानले त्रिदिवसीय रूपमा माधव स्मृति दिवस मनाएको थियो ।जस अनुसार बुधबार रक्तदान कार्यक्रम आयोजना गरि ४८ युनिट रगत संकलन गरिएको थियो । त्यसैगरी बुधबार नै अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगितामा प्रथम स्थान कालिका मा.वि. काहुँ ,दित्तीय स्थान बिन्ध्यबासिनी मा.वि. बाटुलेचौर र तृतीय स्थान महेन्द्र मा.वि.भलामले प्राप्त गर्न सफल भएका थिए।

मंगलबार माधव स्मृति भवन परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको सो प्रतिष्ठानले जनाएको छ। तत्कालिन अवस्थामा विभिन्न स्कुलहरूको स्थापनासंगै शिक्षण पेशामा आबद्ध माधव पौडेल समाजका विभिन्न क्षेत्रका सुधारक थिए। वि.स. २००० सालमा कास्कीको साविक भलाम गाउँ विकास समितिमा जन्मेका माधव प्रसाद पौडेल वि.स. २०४९ सालमा सोही गाविसको अध्यक्ष निर्वाचित भएर राजनीतिक र सामाजिक विकासमा काम गर्दा गर्दै वि.स २०५० सालमा ५० बर्षको अल्पायुमै निधन हुन पुगेको थियो ।

  • ४ आश्विन २०८०, बिहीबार १६:०६ प्रकाशित