शिक्षक आन्दोलनको प्रभाव

सामुदायिक विद्यालयका ७० लाख विद्यार्थीको पठनपाठन बन्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो ।

आन्दोलनका कारण आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन् । देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् । हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएका कारण प्रभाव नेपरेपनि आज देखि शिक्षकको आन्दोलनको प्रत्यक्ष प्रभाव परेको छ ।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने जानकारी दिए ।

आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको उनको भनाइ छ । ‘जति कार्यदिन बन्द हुन्छ । त्यति दिन पछि पढाउँछौ। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहनेछन्’ महासचिव सुवेदीले भने ।

सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए । आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आज झन बढ्ने महासचिव सुवेदीको भनाइ छ ।

  • ४ आश्विन २०८०, बिहीबार ०९:१३ प्रकाशित