नानी–सुक स्मृति पुरस्कारबाट नैनकुमार श्रेष्ठ सम्मानित

केन्द्रभाग मिडिया

पोखरा ।

यस वर्षको नानी–सुक स्मृति पुरस्कारबाट म्याग्दीका नैनकुमार श्रेष्ठ सम्मानित भएका छन् । नानी–सुक स्मृति प्रतिष्ठान पोखराले संस्थाको १७ औं वार्षिकोत्सव अवसरमा सोमबार उनलाई सम्मान गरेको हो ।

प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई नगद २५ हजार ५२५ सहित ताम्रपत्र, दोसल्ला, मालासहित सम्मानित गरे । म्याग्दी सदरमुकाम बेनी–७ निवासी ८१ वर्षीय श्रेष्ठ वरिष्ठ समाजसेवी एवं शिक्षासेवी हुन् । म्याग्दीको समग्र विकासमा उनको ठुलो योगदान छ । उनले म्यादी उद्योग वाणिज्य संघ तथा प्रभात प्रावि मंगला लगायत स्कुलको भवन निर्माणमा करोडौं मूल्य बराबरको जग्गादान गरेका छन् ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले यो सम्मानको कार्यक्रम पितृप्रति सन्तानले गर्ने सुकार्य हो भने । उनले सुकबहादुर हिराचन तथा समग्र थकाली समुदायको बारेमा पनि बोलेका थिए । सम्मानित व्यक्तित्व श्रेष्ठले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै यानीमाया गीतसमेत गाएका थिए । म्याग्दीमा यानीमाया गाउनमा होस् वा विभिन्न जात्रामा नाच्न उनी सधैं अघि सर्थे ।

प्रतिष्ठानका संरक्षक वीरेन्द्र हिराचनले बाबुआमाको योगदान छोराछोरीले जति गरे पनि गुन तिर्न नसक्ने बताए । बाबुआमाको स्मृतिको स्थापना गरिएको कोषमा आफ्ना परिवारका सदस्यले पनि नगद सहयोग गरेको उनले खुलाए । सो अवसरमा उनले बाबुआमाको स्मृतिमा भजन सुनाए ।

संस्थाका उपाध्यक्ष हेरम्ब कोइरालाले पुरस्कारको महत्व र कार्यविधिबारे जानकारी दिए भने समाजसेवी सुन्दर ज्योतिषले पुरस्कृत व्यक्तित्वको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानले नरेन्द्रकुमार हिराचनलाई आजीवन सदस्यता प्रदान गरेको छ ।

प्रतिष्ठान अध्यक्ष तारानाथ गौतम पाखेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संरक्षक शान्ति हिराचन र सञ्चालन सुकु हिराचनले गरेका थिए । विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा भक्ति संगीत प्रतिष्ठानले नवराल बरालको नेतृत्वमा भक्ति संगीत प्रस्तुत गरेको थियो ।

गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले २०६२ सालमा शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा ९ लाखको अक्षयकोष स्थापना गरी सोको ब्याजबाट पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि मुस्ताङका भक्ति हिराचन, कास्कीका अनन्तनाथ पौडेल, कास्कीकै पद्मराज कोइराला, तनहुँका दिव्यरमण अर्याल, बागलुङका पद्मसिं विश्वकर्मा, अर्घाखाँचीका कृष्णप्रसाद पौडेल, लमजुङका पूर्णभद्र नेउपाने र पर्वतका लोकनाथ आचार्य पुरस्कृत भइसकेका छन् ।

  • १ आश्विन २०८०, सोमबार १९:१६ प्रकाशित