लामाचौर तीज महोत्सव

गायिका समीक्षाको प्रस्तुतिमा उर्लिए दर्शक

केन्द्रभाग मिडिया

पोखरा ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा जारी २५ औं संस्करणको लामाचौर तीज महोत्सवको दोस्रो दिन आइतबार प्रमुख आकर्षण चर्चित गायिका समीक्षा अधिकारी बनिन् ।

तीजको मौसममा रातै कुर्थासलवारमा सजिएकी समीक्षाका आधा दर्जनभन्दा बढी गीतका प्रस्तुतिमा दर्शक पनि उर्लिए । गत वर्ष खुबै चलेको ‘कुरा बुझ्नु पर्छ’ बोलको तीज गीतमा त दर्शक छमछमी नाचेका थिए । गृहजिल्लामा खुलेर आफ्नो प्रस्तुति राख्दै उनले बीचबीचमा ‘पोखराको माहोल अझ तताउनुपर्छ’ भन्दै थिइन् । समीक्षाले धनगढीको बसमा, सूर्ति माड्दा–माड्दै गयो जोवान, हजुरलाई जाडो भा, पछ्यौरी लिइस्यो लगायत चर्चित गीत गाइन् ।

यसैबीच, लोकदोहोरी गायक दीपक खड्का, चोलेन्द्र पौडेल, गायिका लक्ष्मी बानियाँ, सरस्वती लामिछाने पनि विभिन्न प्रस्तुतिमा महोत्सव हेर्न पुगेका दर्शकलाई मनोरञ्जन दिलाए । महोत्सवको तेस्रो तथा अन्तिम दिन सोमबार लोकदोहोरी कलाकारहरु चिज गुरुङ, बविता बानियाँ जेरी, लक्ष्मी मल्ल, दीपक खड्काले गीत गाउने छन् ।

उता, अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा लामाचौरको सरस्वती आदर्श विद्याश्रम प्रथम भएको छ । भाष्कर ममोरियल दोस्रो र वेसलाइन एकेडेमी तेस्रो भए । सान्त्वना प्रगति इङलिस बोर्डिङ स्कुल, कुमुदिनी होम्स् र बालकल्याण मावि सान्त्वना भए । सिर्जना मावि उत्कृष्ट भेषभूषामा पुरस्कृत हुँदै ५ हजार पुरस्कार जितेको छ । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १७ टिमले भाग लिएका थिए ।

महोत्सवको अर्को आकर्षण अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता हो । जसको फाइनल तीजकै दिन हुने प्रचार संयोजक दिनेश भण्डारीले बताए । प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार र सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार दिइनेछ । जसको निर्णायक संयोजक दीपक खड्का छन् ।

अन्तिम दिन भलिबलको फाइनलसहित पुरस्कार वितरण एवं स्रष्टा सम्मान गरिनेछ । खेलकुदतर्फ दिलसरा राना र बास्केटबल तथा ह्याण्डबल प्लेयर जुमप्रसाद गुरुङ सम्मानित हुनेछन् । शिक्षातर्फ पश्चिमाञ्चल इन्जिनियरिङ कलेज तथा साहित्य विधामा रवीन्द्र माकाजूलाई सम्मान गरिने सहसचिव हरिबहादुर थापाले बताए ।

महोत्सव सम्पन्न गर्न ५२ लाख ७७ हजार ५ सय खर्च लाग्ने अनुमान रहेको अर्थ संकलन तथा टिकट व्यवस्थापन समिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए । महोत्सवबाट खर्च घटाइ बाँकी रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गरिने अध्यक्ष स्वागतसिंह भण्डारीले बताए । संस्थाको २७ औं वार्षिक समारोह एवं तीज अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा शनिबारदेखि सुरु महोत्सवको संघीय मन्त्री सुरेन्द्र आचार्यले समुद्घाटन गरेका थिए ।

  • ३१ भाद्र २०८०, आईतवार २०:३६ प्रकाशित