प्रचण्ड नेतृत्वको सरकार ५ वर्ष नै चल्छ : डा. कोइराला

केन्द्रभाग मिडिया

चितवन ।
नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले प्रचण्ड नेतृत्वको सरकार ५ वर्ष नै चल्ने बताएका छन् । आइतबार चितवनका पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए । उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताए । ‘मेरो दृष्टिकोणले प्रचण्ड नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ’, उनले भने । पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ थियो ।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको बताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको तिक्तताका कारण फेरि एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनको जिकिर छ ।

उनले अब कांग्रेस एक्लै हिँड्नुपर्ने समेत बताए ।  ‘कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलिराखेको छ भइहाल्यो’, उनले भने, ‘मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो ।’

सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको उनको भनाइ थियो । ‘इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ’, उनले भने ।

पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उनको आरोप छ । अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने उनले बताए। विचार राम्रो भए पनि कार्यशैलीमा परिवर्तन भए पार्टी एक्लै अघि बढ्न सक्ने उनले बताए ।

  • ३१ भाद्र २०८०, आईतवार १३:५६ प्रकाशित