चिकित्सक आन्दोलन

देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सेवा बन्द

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द रहेको छ ।

हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गर्दै आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो ।

सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ ।

सन्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको सङ्घले आरोप लगाउँदै आएको छ । चिकित्सक द्वय थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

सङ्घले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ ।

जारी विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ ।

भदौ २७ गते चिकित्सक द्वय थापा र बिडारीमाथि बिरामीका आफन्तले अस्पतालमा नै साङ्घातिक आक्रमण गरी घाइते बनाएका थिए ।

यद्यपि, जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न ४ जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको बताएको छ । पक्राउ पर्नेमा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् ।

  • ३१ भाद्र २०८०, आईतवार ०८:५० प्रकाशित