पोखरा ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन् ।
शनिबार बिपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले बिपीलाई महामानव भन्दै गर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरू ओझेलमा परेको बताए ।
उनले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हुने उल्लेख गरे । उनले बिपीले आफूलाई मानव झैँ व्यवहार गर्ने तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेको उल्लेख गरेका थिए ।
‘बिपी मान्छे हो, मान्छे भित्रका कुरा हामीले बुझ्नुपर्छ। बिपीले म मान्छे हुँ भनिरहनुभएको छ । मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ। तर मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छे भन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छौं, त्यो अन्याय हो,’ उनले भने, ‘त्यो अन्याय गरेको कुराबाट हामीले बाहिर निकाल्नुपर्छ। यसको प्रयास यसपटक नेपाली कांग्रेसको प्रांगणमा बिपी महोत्सव भनेर छलफल गरेका छौं ।’













