ठेकेदारले खुल्ला छाडेको सडकको खाल्डोमा खस्दाँ दुई वर्षीय बालकको ज्यान गयो

केन्द्रभाग मिडिया

धनुषा ।

जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको ज्यान गएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर ज्यान गएको हो ।

शुक्रबार बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहन घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा खसेका थिए । परिवारका सदस्यहरुले खोज्दा उनी खाल्डोमा फेला परेका थिए ।

टाउको तल र खुट्टा माथि थोरै देखिएको अवस्था उनलाई भेटेको र खाल्डोबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको बताइएको छ।स्थानीय नथुनी मण्डलका अनुसार मधेश प्रदेश सरकारको बजेटमा दुई वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन लगाइएको छैन ।

ठेकेदार र उपमहानगरपालिकाकालाई पटक–पटक ढक्कन लगाउन आग्रह गर्दा पनि अहिलेसम्म नलगाइएको स्थानीयको भनाइ छ ।

  • २९ भाद्र २०८०, शुक्रबार १०:४२ प्रकाशित