नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । नेम्वाङको निधनको शोकमा प्रतिनिधिसभामा एक मिनेट मौनधारण गरिएको थियो ।

गत मंगलबार हृदयघातबाट निधन भएका नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको निधनप्रति शोक व्यक्त गर्दै सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ ।

उनी संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए ।

यसअघि बिहीबार नै बसेको राष्ट्रिय सभा बैठकले पनि नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

  • २८ भाद्र २०८०, बिहीबार १७:१३ प्रकाशित