चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिताअसोज पहिलो साता

केन्द्रभाग मिडिया

पोखरा ।
आगामी असोज ५ र ६ गते चौथो संस्करणको मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता हुनेभएको छ । बुल्समेन क्लबले प्रतियोगिताको तीन संस्करण क्लबले पोखरामै आयोजना गरेकोमा चौथो संस्करणलाई भने ललितपुरको सानेपामा आयोजना गर्ने निर्णय गरेको छ । मोफसलबाट आयोजना गरिएको शारीरिक सुगठन प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हो ।

क्लबले २०७१ सालदेखि दुई वर्षको अन्तरमा मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आएको छ । चौथो संस्करण ०७७ सालमै आयोजना गर्ने तयारी भएपनि कोभिडकै कारण प्रतियोगिता स्थगित गरिएको थियो ।

‘बुल्समेनको आह्वान युवाहरुको पहिचान’ भन्ने नारासहित स्थापित क्लबले शारीरिक सुगठन खेल मार्फत युवापुस्तलाई खेलकुलप्रति प्रेरित गरेको छ । स्वच्छ समाजको लागि स्वास्थ्य मानसिकता र व्यस्त मानसिकताको लागि स्वस्थ्य शरीर, स्वास्थ्य शरीरको लागि शारीरिक व्यायाम भन्ने मान्यतालाई क्लबले आत्मसात गर्दै आएको छ ।

क्लबले आगामी असोज ४ गते सहभागि खेलाडीको तौल लिने छ । पुरुष तर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने छ । असोज ५ गते प्रिजजिङ र असोज ६ गते शनिबार सानेपास्थित हेरिटेज गार्डेनमा फाईनल हुने क्लबले जनाएको छ ।

मेन्स फिजिक तर्फ १७० सेन्टिमिटर माथि र १७० सेन्टिमिटर मुनी प्रतिस्पर्धा गराईने क्लबका उपाध्यक्ष रुपेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार महिलाको इभेन्टलाई पनि समावेश गरिएको छ । महिला तर्फ वुमन्स फिजिक र वुमन वेलनेसमा प्रतिस्पर्धा गराईने छ ।

प्रतियोगिताको ओभरअल च्याम्पियनले ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । प्रत्येक तौल समूहको विजेताले ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो स्थानमा रहनेले २० हजार नगद पुरस्कार पाउने छन् ।

मेन्स फिजिकको दुवै इभेण्टका विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो स्थानमा रहने खेलाडीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै वुमन फिजिक र वुमन वेलनेस विजेताले पनि समान १ लाख, ५० हजार र ३५ हजार पाउने छन् ।

 

  • २७ भाद्र २०८०, बुधबार २०:१३ प्रकाशित