वीरगञ्जको बाल सुधार गृहमा दुई समुहबीच झडप, कैदीबन्दीद्धारा तोडफोड

केन्द्रभाग मिडिया

काठमाडौं ।

पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको छ । आज बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता कायम राखिएको छ ।

गएराति बाल सुधार गृहमा रहेकाहरुबीच आपसी विवादका कारण तनाव भएको थियो । दुई समूहबीचको विवादले झडपको रुप लिँदा केही कैदीबन्दी घाइते पनि भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

बाल सुधार गृहमा तनाव बढेको थाहा पाएपछि प्रहरी परिचालन गरिएको थियो । त्यसपछि झन् आक्रोशमा आएकाहरुले बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी कुमार विक्रम थापाले आज बिहानको अवस्था सामान्य रहेको बताएका छन् । यद्यपि अहिले पनि बाल सुधार गृह बाहिर प्रहरी खटाइएको उनले जानकारी दिए ।

बाल सुधार गृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन । स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको छ ।

यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।

त्यहाँ पहिल्यैदेखि रहेकाहरु र भक्तपुरबाट पठाइएकाहरुको समूहबीच विवाद हुँदा झडप भएको बताइएको छ ।

  • २७ भाद्र २०८०, बुधबार ०९:२६ प्रकाशित