श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

केन्द्रभाग मिडिया

पोखरा ।
सह—आयोजक श्रीलंकालाई उसैको घरेलु मैदानमा पराजित गर्दै भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार महत्त्वपूर्ण खेलमा श्रीलंकालाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली श्रीलंकाले ४१.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन मात्र बनाउन सक्यो ।

भारतका लागि ओपनर ब्याट्सम्यान रोहित शर्माले ५३ रनको योगदान गरे । कप्तान शर्माले ४८ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए । ३६ वर्षीय शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५१औँ अर्धशतक हो ।

उनले एकदिवसीय क्रिकेटको दुई सय ४१औँ पालीमा ५१औँ अर्धशतक प्रहार गरेका हुन् । एकदिवसीय क्रिकेटमा उनले ३० वटा शतक पनि बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले १० हजार रनको कोशेढुंगा पनि पार गरेका छन् । एकदिवसीय क्रिकेटमा उनले बनाएको रन सङ्ख्या १० हजार ३१ पुगेको छ ।

यसैगरी भारतीय टोलीका लागि ओपनर शुभमन गिलले १९ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान ईशान किशनले ३३ रन बनाए । केएल राहुल ३९ रनमा पेभेलियन फर्किए । अक्सर पटेलले २६ रनको योगदान गरे ।

भारतीय टोलीका लागि अन्य ब्याट्सम्यानले दोहोरो सङ्ख्यामा रन बटुल्न सकेनन् । पूर्वकप्तानसमेत रहेका प्रभावशाली ब्याट्सम्यान विराट कोहली तीन रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । भारतीय टोलीले अतिरिक्त रूपमा २१ रन पाएको थियो ।

श्रीलङ्काली टोलीका बलर दुनिथ वेल्लालागे एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ४० रन खर्चिएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा पहिलो पटक पाँच विकेट लिएका हुन् । चारिथ असालन्काले पनि चार विकेट हात पारे । उनले नौ ओभरमा एक मेडन राख्दै केवल १८ रन खर्चिएका थिए । अर्को एक विकेट महिस थिकसनाले लिएका थिए ।

जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्काका दुवै ओपनर ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । ओपनर पाथुम निसानका ६ रन बनाउँदै पेभेलियन फर्किए । दिमुथ करुणारत्ने पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।

श्रीलंकाका लागि छैटौँ नम्बरका ब्याट्सम्यान धनञ्जय डा सिल्भाले ४१ रनको योगदान गरे । उनले उत्कृष्ट पाली खेल्दै श्रीलङ्कालाई जिततर्फ डोर्‍याउने प्रयास गरेका थिए । ६६ बलको सामना गरी पाँच चौका हिर्काउँदै ३७.३ ओभरमा उनी आउट भएपछि श्रीलंका पराजयतर्फ अग्रसर भएको थियो ।

धनञ्जय डा सिल्भा र आठौं नम्बरका ब्याट्सम्यान दुनिथ वेल्लालागेले टोलीका लागि ६३ रनको साझेदारी गरेका थिए । दुनिथ वेल्लालागेले पनि टोलीका लागि अविजित ४२ रनको योगदान गरे । उनले ४६ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए ।

यसैगरी विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस १५ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । चौथो नम्बरका ब्याट्सम्यान सादिरा सामराबिक्रमा पनि १७ रन बनाउँदै आउट भए । चरिथ असालंका पनि २२ रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान दसुन सानका नौ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । महिस थिकसना दुई रनमा आउट भए । कसुन रजिथा एक रन बनाउँदै आउट भए ।

भारतीय टोलीका बलर कुलदिप यादवले चार विकेट लिए । जसप्रित बुमराहले दुई विकेट लिए । रविन्द्र जडेजाले पनि दुई विकेट कुम्ल्याए । मोहम्मद सिराजले एक विकेट हात पारे । हार्दिक पाण्डेयाले एक विकेट हात पारे ।

‘सुपर फोर’ चरणमा सहभागी चारवटै टोलीले एकअर्कासँग एक—एक खेल खेल्नेछन् । यस आधारमा ‘सुपर फोर’ चरणमा प्रत्येक टोलीले तीन—तीन खेल खेल्नेछन् । त्यसपछि अङ्क तालिकाको सबैभन्दा माथि रहने दुईवटा टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् ।

‘‘सुपर फोर’ चरणमा दुई खेल खेलेको भारतले चार अंक जोडेको छ । दुई खेल खेलेको श्रीलंका दुई अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेल खेलेको पाकिस्तानको पनि दुई अंक छ । हालसम्म खेलेको दुवै खेलमा पराजय भोगेको बङ्गलादेश भने उपाधि होडबाट बाहिरिइसकेको छ ।

  • २७ भाद्र २०८०, बुधबार ०६:२० प्रकाशित