पोखरा ।
कास्की प्रहरीले सुन चोरेको आरोपमा एकजना मोवाइल पसलेसहित दुईजनालाई पक्राउ गरेको छ । पोखरा १२ मा रहेको पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट अन्दाजी १६ तोला बराबरका सुनका बिभिन्न गरगहना चोरी गरेको आरोपमा पर्सागढी –२ घर भई हाल पोखरा- १२ बस्ने २२ बर्षकी शिवदेवी चौधरी र उनले चेरेको गहना लुकाएर राखिदिने पोखरा- १० बुद्धचोकमा रहेको एक मोवाईल पसल सञ्चालकलाई पक्राउ गरेको हो ।
प्रहरीले मोवाइल पसल र सञ्चालकको नाम भने खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले चौधरीले राख्न दिएको भनिएको मोवाइल पसलमा खानतलासी गर्दा चोरी भएका १६ तोला बराबरका बिभिन्न सुनका गरगहनाहरु बरामद भएको छ । पक्राउ परेका दुइजनालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको उनले जानकारी दिए ।
गहना चोरी भएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार सोमबार दिउँसो एक बजेको समयमा आफैले काम गरेको स्थानबाट चौधरीले ति गहना चोरेकी थिइन् ।