गण्डकीसहित चार प्रदेशमा भारी वर्षको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

  • २६ भाद्र २०८०, मंगलवार ०८:०५ प्रकाशित