चितवन ।
स्क्रब टाइफसबाट एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिएका छन् । उनका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि थप उपचारका लागि आइतबार मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सघन उपचार कक्षमा उपचारका क्रममा उनको ज्यान गएको केसीले बताए ।
जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । ६ सय ९५ जनाको परीक्षण गर्दा ६७ मा स्क्रब टाइफस पुष्टि भएको सूचना अधिकारी केसीले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये २५ जना चितवनका छन् भने बाँकी अन्य जिल्लाका छन् ।
केसीले गत आवमा तीन हजार चार सय ८२ जनाको परीक्षण गर्दा पाँच सय २८ मा स्क्रब टाइफस सङ्क्रमण देखिएको जानकारी दिए ।














