भोली पोखरा विमानस्थलबाट चार्टड उडान भर्दै भुटानको ड्रुक एयर

केन्द्रभाग मिडिया

पोखरा ।

भुटानको ड्रुक एयरले भोली पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चार्टड उडान भदैँछ ।

ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्न लागेको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले जनाएको छ ।

बिहान ६ः ४५ बजे जहाज पोखरा बिमानस्थलमा ल्याण्ड हुने प्राधिकरणले जनाएको छ । एक घण्टा होल्ड गरेर जहाजले पोखरामा रहेका पाहुनालाई भुटान लैजाने बताइएको छ ।जहाज पोखराबाट यात्रु भरेर पारो नै उड्नेछ ।

चार्टड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको प्राधिकरणको भनाई छ ।अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यावसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।

  • २२ भाद्र २०८०, शुक्रबार १६:०३ प्रकाशित