चौधरी समूह र भारतको अदानी समूहबीच सिमेन्टमा रणनीतिक साझेदारी

केन्द्रभाग मिडिया

काठमाडौं।
चौधरी ग्रुप र भारतको व्यवसायिक घराना अदानी ग्रुपवीच सिमेन्ट व्यापार अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सहमति भएको छ। यो रणनीतिक साझेदारीमार्फत नेपालसँग जोडिएका राज्यहरुमा सिमेन्ट आपूर्ति हुनेछ। अहिले चौधरी समूहको लगानी रहेको सम्राट सिमेन्टले भारतमा क्लिंकर निकासी गर्दै आएको छ। सम्राटसँगै चौधरी समूहको पाल्पामा सिमेन्ट उद्योग छ भने नवलपरासीको दुम्कीबासमा सीजी सिमेन्टको ग्राइन्डिङ युनिट छ।

समूहले सीजी ब्राण्डमा सिमेन्ट बिक्री गर्दै आएको छ। समूहले भारतलाई लक्षित गर्दै सिमेन्ट बिक्रीका लागि अदानीसँग रणनीतिक साझेदारी गरेका हुन्। नेपालमा विकास निर्माण ठप्प प्राय छ भने आर्थिक मन्दीका कारण व्यक्तिगत आवास निर्माण पनि सुस्त छ।

स्वदेशमा बजार नभएपछि उद्योगीले भारतमा सिमेन्ट निकासी बढाउन खोजिरहेका छन्। त्यसमा पनि गत आर्थिक वर्ष सरकारले सिमेन्ट निकासी गर्दा ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेपछि भारत निकासीमा उद्योगी केन्द्रित भएका छन्।अहिले अर्घाखाँची, आरएमसीको पाल्पा सिमेन्टले भारत सिमेन्ट निकासी गर्दै आएका छन्।

चौधरी समूहले अदानीका दुई ब्राण्डको प्लान्ट नभएको स्थानमा नेपालबाट सिमेन्ट बिक्री गर्न अदानीसँग साझेदारी गरेको हो। यसले सिमेन्ट उद्योगमा नयाँ एभिन्युज खोल्न सक्नेछ। सर्वोत्तम सिमेन्टले पनि भारतीय कम्पनीसँग साझेदारी गरेर भारतीय बजार सुनिश्चित गर्ने प्रयास गरेको थियो। तर त्यो भन्दा अघि नै चौधरीले अदानीसँग गरेर बाजी मारेको छ। नेपालका सिमेन्ट उद्योगले विहार, उत्तर प्रदेश र पश्चिम बंगालका विभिन्न स्थानमा सीमा क्षेत्रबाट १ सय किलोमिटरभित्र सिमेन्ट निर्यात गर्न सक्छन्।

समूहका प्रवन्ध निर्देशक वरुण चौधरीले दुई व्यवसायिक समूहबीचको साझेदारी कोशेढुंगा सावित हुने बताए। अदानीको भारतमा अम्बुजा र एसीसी सिमेन्ट उद्योग छ। यी दुई उद्योग भारतको ठूलो सिमेन्ट उद्योगमा पर्छन्। भारतमा अदानीका १४ वटा एकीकृत युनिट, १६ वटा ग्राइन्डिङ यिनय, ७९ वटा रेडिमिक्स कंक्रिट प्लान्ट र ७८ हजार डिलर छन्।

‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपालभारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौं,’उनले भने।

  • २१ भाद्र २०८०, बिहीबार १७:१५ प्रकाशित