आज अमेरिकी सेनाको टोली नेपाल आउँदै

केन्द्रभाग मिडिया

काठमाडौं । आज अमेरिकी सेनाको १२ सदस्यीय टोली नेपाल आउँदै छ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको लागि अमेरिकी सेनाको टोली आज काठमाडौं आउन लागेको हो ।

४० औं संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेदेखि सुरु भई असोज १२ गते सकिने नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

यो अभ्यासमा सहभागी हुन अमेरिकाबाट जुनियर लेभलका बिल्लादार सैनिक आज दिउँसो बन्दोबस्तीका सामानसहित अमेरिकी सेनाकै विमानबाट काठमाडौं आउन लागेको हुन्। अमेरिकी सेनाको उक्त विमान भने भदौ २२ गते नै फर्किने छ ।

अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशका सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता, प्रतिआतंकवाद नियन्त्रण, शान्ति सेनामा खटिँदाको भूमिका लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदान प्रदान हुँदै आएको छ ।

यस्तै अभ्यासको सिलसिलामा सेनानी विवेक विक्रम शाहको कमाण्डमा १० सदस्यीय नेपाली सेनाको टोली भदौ २० गते बेलायत प्रस्थान गरेको छ ।

  • २१ भाद्र २०८०, बिहीबार ०९:३२ प्रकाशित