नगेन आर्ट एकेडेमीमा तेस्रो राष्ट्रिय कला प्रदर्शनी सुरु

केन्द्रभाग मिडिया

पोखरा ।
नगेन आर्ट एकेडेमीको आयोजनामा तेस्रो राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ । पोखरा–४, चिप्लेढुङ्गा स्थित घामपानी मार्केटमा रहेको एकेडेमीकै हलमा आजबाट चित्रकला प्रदर्शनी सुरु भएको हो ।

सो प्रदर्शनी कार्यक्रमको समुद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले गण्डकी प्रदेशको नक्साको चित्र कोरेर गरे ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले कलाकार राष्ट्रको गहना भन्दापनि यो मानव शरीको महत्वपूर्ण अंग आखाँको रुपमा आफुले लिएको बताए । उनले शब्दले बयान गर्न नसकेका धेरै कुराहरु चित्रले बोल्ने गरेको बताए।

त्यस्तै उद्योग महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले अन्तर्राष्ट्रिय स्तरमा चित्रकलाको महत्व भएको तर नेपाल जस्तो कला–संस्कृतिमा धनी भएको राष्ट्रमा कलाको उजार गर्नको लागि सरकारले अझै पहल गर्न नसक्नु दुःखद भएको बताए ।
प्रदर्शनी कार्यक्रममा नेपाल ललितकला एकेडेमीका प्राज्ञ नगेन सिँहले नेपालमा ललितकला बिकास बोर्डको आवश्यक भएको र प्रत्येक नगरपालिका तथा गाँउपालिकामा कला विभाग हुनुपर्ने बताए ।

यस्तै नगेन न्युज पब्लिकेशन प्रा.ली.का अध्यक्ष ज्योती हमालले राज्यले कला तथा कलाकारको सम्मान गर्न नसकेका कारण नेपालबाट कलाकार पलायन हुने अवस्था आएको र पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी सञ्चालनमा ल्याइएको बताइन् ।

सात प्रदेशका १४ वटा जिल्लाका १ सय ४० जना कलाकारहरुले कोरेका चित्रहरु रहेको यस प्रदर्शनी असोज २० गतेसम्म सञ्चालन हुनेछ ।

यस प्रदर्शनीमा ६ӿ८ ईन्च देखि ५ӿ६५ फिटको बिशाल कलाकृति रहेको र सोको मुल्य १ हजारदेखि १ करोड ५० लाखसम्म रहेको कार्यक्रम संयोजक प्रमिशा सिलवालले जानकारी दिइन् ।

प्रदर्शनी कार्यक्रमको समुद्घाटनमा स्वागत एकेडेमीका सल्लाहकार कृष्ण रानाभाट र धन्यवाद विद्यार्थी शिला घिमिरेले गरेका थिए ।

यस प्रदर्शनी कार्यक्रमको सहयोगी सस्था पोखरा प्रज्ञा प्रतिष्ठान, खल्ती एप र अफिसियल मिडिया परिचय नेटवर्क रहेको छ ।

  • २० भाद्र २०८०, बुधबार १७:४१ प्रकाशित